निर्वाचन सुरक्षा : प्रदेशहरुमा एआईजीको अनुगमन, संवेदनशील जिल्लामा अतिरिक्त कमाण्ड

Share this
737shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २०, मंगलबार १३:१६

काठमाडौं । आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल प्रहरीले सुरक्षा व्यवस्थापनमा केन्द्रीय तहबाटै कडा निगरानी गर्न थालेको छ ।

निर्वाचन सुरक्षालाई अत्यन्त संवेदनशील विषयका रूपमा लिँदै प्रहरी प्रधान कार्यालयले एआईजीहरूलाई सातै प्रदेशमा खटाएर स्थलगत अनुगमन थालेको छ । यही अनुगमनबाट प्राप्त प्रतिवेदन, प्रदेशस्तरीय सुरक्षास्थिति र जोखिम मूल्यांकनका आधारमा फागुनको पहिलो सातादेखि संवेदनशील जिल्लामा अतिरिक्त कमाण्ड प्रदान गरिने छ ।

केही जिल्लामा एसएसपी र एसपीस्तरका अतिरिक्त कमाण्डर परिचालन गरिने भएको हो । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेका अनुसार यो योजना नियमित प्रशासनिक सरुवा वा जिम्मेवारी परिवर्तन नभएर विशुद्ध रूपमा निर्वाचन सुरक्षामा केन्द्रित विशेष रणनीति हो । सूचना संकलन, सम्भावित खतरा विश्लेषण, उम्मेदवारहरूको अवस्थिति, विगतका निर्वाचनमा भएका घटनाक्रम र स्थानीय राजनीतिक परिवेशको समग्र मूल्यांकनपछि मात्र कुन जिल्लामा कस्तो स्तरको कमाण्ड आवश्यक पर्छ भन्ने निर्णय गरिने उनले बताए ।

‘हालसम्म कुन जिल्लामा को पठाउने भन्ने अन्तिम टुंगो लागेको छैन,’ काफ्ले भन्छन्, ‘तर, फागुनको पहिलो हप्तादेखि योजना कार्यान्वयनमा जान्छ ।’ यस योजनाअनुसार प्रहरी प्रधान कार्यालयमा कार्यरत एआईजीहरूलाई पालैपालो प्रदेशमा पठाउने क्रम सुरु भइसकेको छ ।

कोशी प्रदेशमा मानवस्रोत विकास विभागमा कार्यरत एआईजी राजन अधिकारीले समग्र सुरक्षास्थितिको अनुगमन गरिसकेका छन् । त्यसैगरी, हाल प्रदेश समन्वय विभागमा कार्यरत एआईजी डम्बरबहादुर विक मधेश प्रदेशको सुरक्षास्थिति अनुगमनका लागि खटिएका छन् । अन्य प्रदेशमा पनि क्रमशः एआईजीहरूको अनुगमन जारी राख्ने प्रहरी प्रधान कार्यालयको तयारी छ ।

एआईजीहरूको स्थलगत अनुगमन प्रतिवेदन र सम्बन्धित प्रदेश प्रहरी प्रमुख डीआईजीहरूको सिफारिसका आधारमा प्रहरी प्रधान कार्यालयले आवश्यक ठानेका जिल्लामा थप कमाण्ड टोली पठाउनेछ । प्रहरीको प्रारम्भिक आन्तरिक विश्लेषणअनुसार झापा र सर्लाही जिल्ला उच्च सुरक्षा चुनौतीयुक्त जिल्लाका रूपमा पहिचान भइसकेका छन् ।

यी जिल्लामा विगतका निर्वाचन अनुभव, राजनीतिक गतिविधिको तीव्रता र सम्भावित जोखिमलाई विशेष रूपमा मूल्यांकन गरिएको बताइन्छ । यद्यपि, यी २ जिल्लामा मात्र सीमित नरही अन्य जिल्लामा पनि उम्मेदवारको स्थिति, प्रतिस्पर्धाको स्वरूप र स्थानीय संवेदनशीलताका आधारमा सुरक्षा चुनौती मूल्यांकन गरिनेछ ।

महत्त्वपूर्ण कुरा के हो भने जिल्लामा हाल कार्यरत प्रहरी प्रमुख एसपी र डीएसपीहरूको नियमित जिम्मेवारी भने यथावत नै रहनेछ । अतिरिक्त रूपमा खटाइने एसएसपी वा एसपीहरूले जिल्लाको समग्र प्रशासनिक कमाण्ड सम्हाल्ने नभएर निर्वाचन सुरक्षामा मात्र केन्द्रित रहनेछन् । ‘जिल्लाका एसपी र डीएसपी साबहरूले नियमित शान्ति सुरक्षा र प्रशासनिक काम निरन्तर गर्नुहुन्छ,’ प्रवक्ता काफ्ले भने, ‘थप रूपमा जाने कमाण्डरहरूले निर्वाचनसँग सम्बन्धित तोकिएका काम मात्र गर्छन् ।’

हाल नेपाल प्रहरीको संरचनाअनुसार प्रत्येक प्रदेशमा कम्तीमा ३ जना एसएसपी कार्यरत छन् । १ जना प्रदेश प्रहरी कार्यालयमा, १ जना प्रदेशस्तरीय तालिम केन्द्रमा र अर्का १ जना प्रदेशअन्तर्गतको प्रहरी कार्यालयमा जिम्मेवारीमा छन् । निर्वाचन सुरक्षाका लागि तिनै एसएसपीहरूलाई आवश्यकता अनुसार प्रदेशभित्रका जिल्लामा परिचालन गरिनेछ ।

कसलाई कुन जिल्लामा पठाउने भन्ने अधिकार सम्बन्धित प्रदेश प्रहरी प्रमुख डीआईजीसँग रहनेछ । जसका लागि उनीहरूले प्रहरी प्रधान कार्यालयसँग समन्वय गर्नेछन् । यदि कुनै प्रदेश वा जिल्लामा उपलब्ध जनशक्ति पर्याप्त नभएमा अन्य प्रदेश वा केन्द्रबाट थप एसएसपी र एसपी पठाइने व्यवस्था पनि गरिएको छ ।

यसले निर्वाचनको अवधिमा कुनै पनि जिल्लामा सुरक्षाको कमजोरी देखिन नदिने प्रहरीको रणनीति देखाउँछ । थप टोलीमा खटाइने कमाण्डरहरूको जिम्मेवारी व्यापक रहनेछ । उनीहरूले उम्मेदवारहरूको व्यक्तिगत सुरक्षा अवस्था मूल्यांकन गर्ने, मतदानस्थल र मतदान केन्द्रको भौतिक तथा रणनीतिक सुरक्षा व्यवस्थापन गर्ने, सीसीटीभी जडान तथा निगरानी प्रणालीको अवस्था हेर्ने, आवश्यक परे तत्काल थप मद्दत टोली झिकाउने र राजनीतिक दल, उम्मेदवार तथा स्थानीय प्रहरीबीच प्रभावकारी समन्वय गराउने काम गर्नेछन् ।

समग्रमा उनीहरूको उपस्थितिले स्थानीय सुरक्षातन्त्रलाई थप सुदृढ र विश्वसनीय बनाउने प्रहरीको विश्वास छ । नेपाल प्रहरीले यसपटक निर्वाचन सुरक्षालाई मतदानको दिनसम्म सीमित नराखी पूर्वतयारी, जोखिम न्यूनीकरण र तत्काल प्रतिक्रिया प्रणालीमा केन्द्रित गरेको स्पष्ट देखिन्छ । एआईजीस्तरको प्रत्यक्ष अनुगमन र त्यसपछि हुने लक्षित कमाण्ड परिचालनले निर्वाचनलाई शान्त, निष्पक्ष र सुरक्षित बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.