‘ओलीसँग चुनाव भिडाउनु बालेनलाई कमजोर पार्ने रणनीति हो’

Share this
738shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २०, मंगलबार १४:०६

विराटनगर । नेकपा (एमाले)का सचिव भानुभक्त ढकालले काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन साह (बालेन्द्र)लाई झापाको क्षेत्र नम्बर–५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग चुनावी प्रतिस्पर्धामा उतार्नुलाई योजनाबद्ध राजनीतिक चाल भनेका छन् ।

‘बालेनलाई केपी ओलीसँग चुनाव भिडाउनु योजनबद्ध राजनीतिक चाल हुनसक्छ,’ उनले भने । ढकालका अनुसार बालेनलाई स्थापित राष्ट्रिय नेतृत्वसँग ठोक्काएर राजनीतिक रूपमा कमजोर बनाउने उद्देश्यबाट यस्तो प्रतिस्पर्धा प्रेरित हुनसक्छ ।

विराटनगरमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै ढकालले बालेन साहको विषय व्यक्तिगत निर्णयको सीमामा रहन नसक्ने तर्क गरे । ‘बालेनलाई झापा लगेर ओलीसँग भिडाउनु कतै उनकै घेराभित्रको रणनीति त होइन ?’ उनले भने, ‘प्रधानमन्त्री र दलको नेतृत्वको दबाबबाट जोगाउन खोजिएको हुन सक्छ । ओलीसँग प्रतिस्पर्धा गराउनु भनेको उनलाई राजनीतिक रूपमा कमजोर पार्नु हो ।’

ढकालले भावनामा आधारित राजनीतिक माहोल दीर्घकालीन नहुने र समयसँगै यस्ता चर्चाहरू आफैं शान्त हुँदै जाने बताए । ढकालले झापा–५ मा देखिएको चुनावी चासोलाई अस्थायी भन्दै अहिले देखिएको उत्साह विस्तारै घट्ने दाबी गरे ।

‘अहिले ज्वरो आएजस्तो देखिन्छ । तर, विस्तारै ज्वरो घटेर जान्छ,’ उनले भने, ‘भावनामा आधारित राजनीति टिकाउ हुँदैन ।’ झापाको राजनीतिक वातावरण अन्ततः यथार्थमा फर्किने बताउँदै उनले संगठन, कार्यकर्ता र जनआधार बलियो भएको दल नै निर्णायक बन्ने दाबी गरे ।

आगामी प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा ढकालले नेकपा एमालेले स्पष्ट एकल बहुमत ल्याउने दाबीसमेत गरे । पार्टीको सांगठनिक शक्ति, देशव्यापी संरचना र जनआधारका कारण एमाले पहिलो दल बन्ने उनको भनाइ थियो ।

उनले पछिल्लो समय उदाएका नयाँ राजनीतिक शक्तिहरूलाई अस्थायी लहरको संज्ञा दिँदै सामाजिक सञ्जाल र केही मिडियामा देखिएको उत्साह स्थायी नभएको बताए । ‘स्थापित दलहरूप्रतिको जनसमर्थन अझै मजबुत छ,’ उनले भने, ‘नयाँ दलहरूको चर्चा धेरै देखिए पनि त्यसको दीर्घकालीन आधार छैन ।’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायत नयाँ दलहरूको बढ्दो चर्चालाई उनले ‘खहरेको बाढी’सँग तुलना गर्दै यसको स्थायित्व नहुने दाबी गरे । ‘२ दिन ठूलो बाढी आएजस्तो देखिन्छ । तर, त्यसको निरन्तरता हुँदैन,’ ढकालले भने, ‘यो अस्थायी लहर मात्रै हो । नेपाली जनताको विश्वास र राजनीतिक विरासत स्थापित दलहरूसँग नै जोडिएको छ ।’

ढकालले विगतमा बनेको विपक्षी गठबन्धनको प्रभाव क्रमशः कमजोर बन्दै गएको उल्लेख गरे । उनका अनुसार गठबन्धनभित्र देखिएको असन्तुलन र आन्तरिक द्वन्द्वका कारण प्रत्यक्ष निर्वाचनमा एमालेले उल्लेख्य सिट जित्ने आधार तयार भएको छ । ‘पार्टी संगठन बलियो भएकाले आगामी निर्वाचनपछि एकल बहुमतको सरकार गठन गर्ने अवस्था बनिरहेको छ,’ उनले भने ।

यसैबीच, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष ओलीबीच भएको फोन संवादबारे पनि ढकालले टिप्पणी गरे । उनले यसलाई सामान्य राजनीतिक प्रक्रिया भन्दै राजनीतिक नेतृत्वबीच संवाद हुनु स्वाभाविक रहेको बताए । ‘राजनीतिमा संवाद हुनु अस्वाभाविक होइन,’ उनले भने, ‘यसलाई अनावश्यक रूपमा अर्थ्याइरहनु पर्दैन ।’

ढकालको आफ्नै राजनीतिक यात्राबारे पनि उनले स्पष्ट पारे । उनी यसअघि २०७४ र २०७९ सालको निर्वाचनमा मोरङ क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यका लागि एमालेका उम्मेदवार बनेका थिए ।

२०७४ सालमा नेपाली कांग्रेसका डा. सुनील शर्मालाई हराएर निर्वाचित भएका ढकाल २०७९ सालमा भने सोही क्षेत्रमा शर्मासँग पराजित भएका थिए । यसपटक मोरङ–३ छाडेर ढकाल गृहजिल्ला तेह्रथुमबाट उम्मेदवार बनेका छन् ।

मोरङ–३ मा यसपटक एमालेले ईरान राईलाई उम्मेदवार बनाएको छ । त्यहाँ एमालेको जित निश्चित रहेको दाबीसमेत ढकालले गरे । ‘मोरङ–३ मा पार्टीको संगठन बलियो छ,’ उनले भने, ‘ईरान राईको जित सुनिश्चित छ ।’ कांग्रेसबाट पुनः डा. शर्मा नै उम्मेदवार भए पनि जनमत एमालेको पक्षमा रहेको ढकालको दाबी थियो ।

ढकालले आगामी निर्वाचनमा भावनात्मक बहस र क्षणिक चर्चाभन्दा पनि संगठन, अनुभव र स्थायित्व निर्णायक हुने बताए । एमालेले स्पष्ट बहुमतसहित सरकार गठन गर्ने आधार तयार भइसकेको निष्कर्ष उनको थियो ।

पत्रकार सम्मेलनमा एमाले केन्द्रीय सदस्य पर्शुराम बस्नेत, एमाले कोशी प्रदेशका प्रचार तथा प्रकाशन विभाग प्रमुख लक्ष्मण तिवारीलगायतका नेताहरुको उपस्थिति थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.