
नवलपरासी । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचन हिमाली जिल्लाहरूमा अत्यधिक चिसोका कारण असहज भएमा दोस्रो चरणमा गर्न सकिने बताएकी छन्। पूर्वी नवलपरासीको हात्तिखोरस्थित नेपाली सेनाको ब्यारेकमा राष्ट्रिय सेवादल द्वारा आयोजित विद्यार्थीहरूको तालिम समापन समारोहलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो संकेत गरेकी हुन्।
प्रधानमन्त्री कार्कीले सरकारको अहिलेको सम्पूर्ण ध्यान निर्वाचन सम्पन्न गराउनमै केन्द्रित रहेको स्पष्ट पारिन्। उनले निर्वाचन शान्तिपूर्ण र उत्साहजनक रूपमा हुनेमा विश्वास व्यक्त गर्दै हिमाली क्षेत्रका मतदातालाई मतदान केन्द्रसम्म पुग्न सहज बनाउन सरकारले विशेष तयारी गरिरहेको बताएकी छन्।
‘हिमालका जिल्लाहरूमा जहाँ गाडी चल्ने अवस्था छ, त्यहाँ मतदातालाई गाडीबाट ओसारेर भए पनि मतदानको व्यवस्था मिलाउँछौँ,’ उनले भनिन्, ‘तर अत्यधिक चिसोले गर्दा मानिसहरू मतदान गर्नै नसक्ने स्थिति आयो भने ती क्षेत्रमा दोस्रो चरणमा निर्वाचन गराउने सोच सरकारको छ।’
निर्वाचनको आर्थिक र सुरक्षा पक्षबारे बोल्दै प्रधानमन्त्री कार्कीले यस पटकको निर्वाचनमा करिब ३० देखि ३२ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको जानकारी दिइन्। उनले यो निर्वाचनलाई देशमा राजनीतिक स्थायित्व र शान्ति कायम गर्नका लागि एक ‘कोसेढुङ्गा’ को रूपमा व्याख्या गरिन्। ‘निर्वाचन सर्ने हल्लालाई पूर्ण रूपमा खारेज गर्दै उनले भनिन्, निर्वाचन तोकिएकै समयमा हुन्छ, अब सर्ने विषय इतिहास भइसक्यो। मलाई आजसम्म कसैले निर्वाचन सार्ने प्रस्ताव समेत गरेको छैन।’
विगतमा विभिन्न माग राखेर असन्तुष्टि जनाउँदै आएका समूहहरू समेत निर्वाचन प्रक्रियामा सामेल भइसकेको उल्लेख गर्दै प्रधानमन्त्रीले सबै नेपालीलाई उत्साहका साथ सहभागी हुन आग्रह गरेकी छन्। सरकारले सबैको सुरक्षा र न्यायपूर्ण मतदानको सुनिश्चितता गर्ने उनको प्रतिबद्धता छ। मंगलबार हेलिकप्टरमार्फत नवलपरासी पुगेकी प्रधानमन्त्री कार्की कार्यक्रम समापन लगत्तै दिउँसो काठमाडौँ फर्किएकी छन्।

























