चुनावी अभियानमा कांग्रेस नेताहरू: शीर्ष नेताहरू गृह जिल्लातिर

Share this
724shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २०, मंगलबार १५:४९

काठमाडौँ । विशेष महाधिवेशनपछि आन्तरिक विवादमा रुमल्लिएको नेपाली कांग्रेसका शीर्ष नेताहरू निर्वाचन नजिकिएसँगै चुनावी प्रचारका लागि गृह जिल्ला पुग्न थालेका छन्। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पार्टीका धेरै प्रभावशाली नेताहरू उम्मेदवार नबनेका कारण चुनावी माहौल कस्तो होला भन्ने अन्योल चिर्दै उनीहरू फिल्डमा खटिएका हुन्।

१४ औँ महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा समूह र डा. शेखर कोइराला समूहको बहिस्कारका बीच गत पुसमा भएको विशेष महाधिवेशनबाट गगन थापा सभापति चुनिएका थिए। यो विषय हाल सर्वोच्च अदालतमा विचाराधीन रहे पनि निर्वाचनको दबाबका कारण नेताहरू आन्तरिक तिक्तता थाँती राखेर प्रचारमा जुटेका देखिन्छन्। यसले कांग्रेसभित्र एकताको सन्देश दिन खोजिएको र चुनावी माहौल सुध्रिँदै गएको नेताहरूको दाबी छ।

निर्वाचनमा उम्मेदवार नबनेका निवर्तमान पदाधिकारी र केन्द्रीय नेताहरू यतिबेला आ–आफ्नो आधार क्षेत्र सुरक्षित गर्न व्यस्त छन्। निवर्तमान सहमहामन्त्री बद्री पाण्डे अघिल्लो सातादेखि नै गृह जिल्ला बाजुरामा खटिएका छन् भने अर्का निवर्तमान सहमहामन्त्री जीवन परियार माघ ११ गतेदेखि कास्कीमा चुनावी कमान्ड सम्हालिरहेका छन्।

त्यस्तै, निवर्तमान उपसभापति धनराज गुरुङ स्याङ्जा पुगेर निर्वाचन लक्षित कार्यक्रमलाई सम्बोधन गरिरहेका छन्। उनले यस पटकको निर्वाचनलाई ‘बनाउने र भत्काउने शक्ति’ बीचको प्रतिस्पर्धाको संज्ञा दिएका छन्। नेताहरू बालकृष्ण खाण रुपन्देही र रमेश लेखक कञ्चनपुर पुगेर कार्यकर्ता परिचालनमा जुटेका छन्। उपसभापति विश्वप्रकाश शर्मा भने निर्वाचन परिचालन समितिको संयोजकका रूपमा केन्द्रबाटै देशव्यापी अभियानको नेतृत्व गरिरहेका छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.