
काठमाडौँ । सिरहास्थित प्रादेशिक अस्पतालको राजस्व हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ जना पूर्व कार्यालय प्रमुख (मेडिकल सुपरिटेन्डेन्ट) सहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। तत्कालीन मेसुद्वय डा. नागेन्द्र प्रसाद यादव र डा. सरोज यादवसहितका कर्मचारीले अस्पतालको टिकट काउन्टरबाट संकलन भएको रकम बैंकमा दाखिला नगरी दुरुपयोग गरेको ठहर गर्दै आयोगले मंगलबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दर्ता गरेको हो।
आर्थिक वर्ष २०८०/८१ मा अस्पतालका ८ वटा बिल काउन्टरबाट उठेको सेवा शुल्कमा अनियमितता भएको अनुसन्धानबाट खुलेको छ। अख्तियारका अनुसार सफ्टवेयरको अभिलेखमा देखिएको कुल आम्दानी र बैंकमा जम्मा गरिएको भौचरबीच ३८ लाख ७७ हजार ७ सय २४ रुपैयाँ ८३ पैसाको फरक पाइएको छ। कार्यालय प्रमुखहरूले आफ्नो जिम्मेवारी जिम्मेवारीपूर्वक पूरा नगरी उक्त सरकारी रकम मास्न र हिनामिना गर्न सहयोग पुर्याएको आयोगको दाबी छ।
अनियमिततामा संलग्न भएको आरोपमा तत्कालीन प्रशासन प्रमुख अशोक कुमार सिंह, लेखा प्रमुख अशोक कुमार यादव र बिल काउन्टरमा कार्यरत कर्मचारीहरू श्याम कुमार मण्डल, रोशन कुमार यादव, सरस्वती कुमारी यादव, अजय कुमार मण्डल र पुजा कुमारी यादवलाई पनि प्रतिवादी बनाइएको छ। उनीहरूले आपसी मिलेमतोमा सफ्टवेयरको तथ्यांक लुकाएर वास्तविकभन्दा कम आम्दानी देखाई सरकारी ढुकुटीमा नोक्सानी पुर्याएको अभियोग लागेको छ।
त्यस्तै, तत्कालीन लेखा प्रमुख रत्न प्रसाद मण्डलको मृत्यु भइसकेकाले उनले हिनामिना गरेको रकम असुलउपर गर्ने प्रयोजनका लागि उनकी श्रीमती मुस्कान कुमारी मण्डललाई समेत प्रतिवादी कायम गरिएको छ। अख्तियारले सबै प्रतिवादीहरूबाट बिगो बमोजिमको जरिवाना असुल गरी भ्रष्टाचार निवारण ऐन अनुसार कैद सजायको मागदाबी गरेको छ।

























