
काठमाडौं । सरकारले निर्माणाधीन नयाँ संसद् भवन परिसरमा जेनजी आन्दोलनका सहिदहरुको सालिक स्थापना गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहदरबार परिसरको गुरुयोजना संशोधन गरी सालिक निर्माण गर्न स्वीकृति दिने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालले संसद् भवन परिसरमै जेनजी आन्दोलनका सहिदहरुलाई सम्झाउने गरी सालिक बनाइने जानकारी दिए ।
उनका अनुसार गुरुयोजना संशोधनको प्रक्रिया अगाडि बढाइनेछ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले नै भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई सहिद घोषणा गरेको थियो । सरकारले सहिदहरुको योगदानलाई संस्थागत रूपमा स्मरण गर्न सालिक निर्माणको निर्णय गरेको मन्त्री अर्यालले बताए ।

























