७० बर्से कूटनीतिक सम्बन्धको सन्देश बोकेर राष्ट्रपति पौडेल स्वदेश फर्किए

Share this
728shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २१, बुधबार १०:२८

काठमाडौं । जापानको ४ दिने औपचारिक भ्रमण सम्पन्न गरी राष्ट्रपति रामचन्द्र पौडेल आज (बुधबार) स्वदेश फर्किएका छन् ।

जापान सरकारको औपचारिक निमन्त्रणामा प्रथम महिला सविता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जापान पुगेका राष्ट्रपति पौडेलले नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा आयोजना गरिएका विविध कार्यक्रमहरूमा सहभागिता जनाएपछि नारिता अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आएका हुन् । उनी ७० बर्से कूटनीतिक सम्बन्धको सन्देश बोकेर राष्ट्रपति पौडेल स्वदेश फर्किएका हुन् ।

सोमबार जापान पुगेका राष्ट्रपति पौडेलको भ्रमण मूलतः नेपाल र जापानबीच सन् १९५६ सेप्टेम्बर १ मा स्थापना भएको कूटनीतिक सम्बन्धको ७० वर्ष पूरा भएको ऐतिहासिक अवसरसँग जोडिएको थियो । यही अवसरमा जापान सरकारले टोकियोमा आयोजना गरेको विशेष स्वागत तथा स्मरण समारोहमा उनले सहभागिता जनाए र औपचारिक सम्बोधनसमेत गरे ।

सम्बोधनका क्रममा राष्ट्रपति पौडेलले नेपाल–जापान सम्बन्ध कूटनीतिक औपचारिकतामा सीमित नरही आपसी विश्वास, विकास सहकार्य र जनस्तरको मित्रतामा आधारित रहेको उल्लेख गर्दै आगामी दिनमा यस सम्बन्धलाई अझ व्यापक र गहिरो बनाउने अपेक्षा व्यक्त गरेका थिए । भ्रमणका क्रममा राष्ट्रपति पौडेलले टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट् नारुहितोसँग राजकीय शिष्टाचार भेट गरेका थिए ।

उक्त भेटलाई नेपाल–जापान सम्बन्धको दीर्घकालीन इतिहास र आपसी सम्मानको प्रतीकका रूपमा हेरिएको छ । त्यसैगरी, उनले जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाएसँग पनि शिष्टाचार भेटवार्ता गरे । जहाँ द्विपक्षीय सम्बन्ध, विकास सहकार्य, जनशक्ति आदान–प्रदान तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विषयमा विचारविनिमय भएको जनाइएको छ ।

जापानका विदेश राज्यमन्त्री होरिइ इवाओसँगको भेटवार्तामा पनि कूटनीतिक सम्बन्धको निरन्तरता र भविष्यका सहकार्यका सम्भावनाबारे छलफल भएको थियो । राष्ट्रपति पौडेलले भ्रमणका क्रममा जापानमा रहेका नेपाली समुदायका प्रतिनिधिहरूसँग पनि भेटघाट गरे र उनीहरूको कार्यक्रममा सम्बोधन गरे ।

उनले विदेशमा रहेर पनि नेपाली पहिचान, संस्कृति र मुलुकको छवि उजागर गर्न योगदान दिँदै आएका नेपालीहरूप्रति प्रशंसा व्यक्त गरे । साथै, जापानी व्यापारिक समुदायसँगको अन्तरक्रियामा उनले नेपालमा लगानीका सम्भावना, पर्यटन, जलविद्युत्, कृषि र पूर्वाधार विकासका क्षेत्रहरूबारे धारणा राख्दै जापानी लगानीकर्तालाई नेपालमा सहकार्यका लागि आमन्त्रण गरे ।

भ्रमणको अर्को महत्वपूर्ण पक्षका रूपमा राष्ट्रपति पौडेलले जापानस्थित नेपाली राजदूतावासको अवलोकन गरे । उनले दूतावासको सेवा प्रवाह, कूटनीतिक गतिविधि र जापानमा रहेका नेपाली नागरिकका समस्याबारे जानकारी लिँदै आवश्यक सुधार र सक्रियताको आवश्यकता औँल्याएका थिए ।

नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनापछि दुवै देशले क्रमशः दूतावास स्थापना गरेका थिए । नेपालले सन् १९६५ मा टोकियोमा आफ्नो दूतावास स्थापना गरेको थियो भने जापानले सन् १९६७ मा काठमाडौंमा दूतावास स्थापना गरेको थियो । त्यसयता शिक्षा, स्वास्थ्य, पूर्वाधार, मानव संशाधन विकास र विपद् व्यवस्थापनलगायत विभिन्न क्षेत्रमा जापानले नेपाललाई निरन्तर सहयोग गर्दै आएको छ ।

राष्ट्रपति पौडेलको यो भ्रमणलाई नेपाल–जापान सम्बन्धको ७० बर्से यात्रालाई स्मरण गर्दै भविष्यका लागि नयाँ दिशा र सन्देश दिने महत्वपूर्ण कूटनीतिक अवसरका रूपमा लिइएको छ । स्वदेश फर्किँदै गर्दा राष्ट्रपति पौडेलले जापान सरकार र जनताप्रति आतिथ्य र सद्भावका लागि धन्यवाद व्यक्त गर्दै २ देशबीचको मित्रता अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गरेका छन् ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.