विराटनगर आएर सुनसरीतर्फ लागे बालेन साह, यस्तो छ दिनभरको कार्यतालिका

Share this
772shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २१, बुधबार १०:४७

विराटनगर । काठमाडौं महानगरपालिकाका प्रमुख तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) विराटनगर आएर सुनसरीतर्फ लागेका छन् ।

मोरङको रंगेली हुँदै केही बेरअघि विराटनगर आएर उनी सुनसरी गएका हुन् । जिल्ला दौडाहाअन्तर्गत बुधबार बिहान मोरङको उर्लाबारीबाट सुरु भएको उनको यात्रा पथरीशनिश्चरे, लेटाङ, रंगेली हुँदै विराटनगर प्रवेश गरेको थियो ।

बालेनले विराटनगरमा कार्यकर्ता, समर्थक तथा उम्मेदवारहरुसँग सामान्य छलफल तथा भेटघाट गरेका छन् । बालेनको विराटनगर आगमनलाई स्थानीय राजनीतिक वृत्तले चासोका साथ हेरिरहेको थियो ।

विभिन्न स्थानमा भेटघाट कार्यक्रममा सीमित समय निकाल्दै उनले पार्टी संगठन विस्तार, आगामी राजनीतिक रणनीति र स्थानीय तहका समस्या तथा सम्भावनाका बारेमा सामान्य संवाद गरेका थिए । बालेन थोरै समय मात्रै विराटनगरमा रहेर सुनसरीतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।

यसअघि बिहान उर्लाबारीमा स्थानीय युवा र नागरिक अगुवासँग भएको छलफलमा बालेनले सुशासन, पारदर्शिता र नागरिक सहभागितालाई विकासको मूल आधारका रूपमा प्रस्तुत गरेका थिए । राज्य संयन्त्रमा व्याप्त बेथिति, अनावश्यक खर्च र जवाफदेहिताको अभावका बारेमा कडा टिप्पणी गर्दै उनले नागरिक स्वयं सचेत र सक्रिय नभएसम्म वास्तविक परिवर्तन सम्भव नहुने धारणा राखेका थिए ।

स्थानीय तह बलियो बने मात्र संघीय संरचनाको औचित्य पुष्टि हुने उनको भनाइ थियो । उर्लाबारीपछि पथरीशनिश्चरे, लेटाङ र रंगेली हुँदै विराटनगर आइपुगेका बालेनले कार्यकर्ता र सम्भावित उम्मेदवारसँग संगठनात्मक विषयमा सामान्य छलफल गरेका छन् ।

दौडाहाका क्रममा स्थानीय राजनीतिक अवस्था, आगामी निर्वाचन तयारी, संगठन सुदृढीकरण र मतदातासँग प्रत्यक्ष सम्बन्ध विस्तारका विषयहरू बुझ्ने गरेका छन् । विराटनगरबाट हिँडिसकेका बालेन दुहबी हुँदै इटहरी पुग्ने तालिका रहेको छ ।

इटहरीमा करिब डेढ घण्टा कार्यकर्ता र उम्मेदवारसँग विस्तृत छलफल गर्ने कार्यक्रम तय गरिएको छ । त्यसपछि मध्याह्न १२ बजे इटहरीबाट इनरुवा र साढे १२ बजेपछि बराहक्षेत्रतर्फ प्रस्थान गर्ने कार्यतालिका छ । बराहक्षेत्रको कार्यक्रम सम्पन्न गरेपछि उनको अन्तिम गन्तव्य उदयपुर हुने । उदयपुरमा उनी आजै दिउँसो ४ बजेसम्म पुग्ने बताइएको छ ।

दौडाहाका क्रममा बालेनले कार्यकर्ता भेटघाट, उम्मेदवारसँग छलफल र मतदातासँग प्रत्यक्ष अन्तर्क्रिया गर्ने कार्यक्रमलाई प्राथमिकतामा राखेका छन् । पार्टी संगठनलाई जरैदेखि मजबुत बनाउने, स्थानीय मतदाताको भावना बुझ्ने र राजनीतिक विकल्पका बारेमा प्रत्यक्ष संवाद गर्ने उद्देश्यसहित जिल्ला दौडाहालाई उनले व्यापक बनाएका छन् ।

प्रायः मौन रहने बालेनको व्यवहारिक दृष्टिकोण र नागरिक केन्द्रित राजनीतिक धारले परम्परागत राजनीतिमा नयाँ बहस सिर्जना गरिरहेको छ । विभिन्न स्थानको दौडाहालाई पनि यही सन्दर्भमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

बालेनले झापाको निर्वाचन क्षेत्र ५ नम्बर ५ मा रास्वपाबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग चुनावी प्रतिस्पर्धामा उत्रिएपछि बालेनको चर्चा व्यापक बनेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.