
काठमाडौँ । नेकपा (एमाले) ले आसन्न निर्वाचनको सन्दर्भमा सामाजिक सञ्जाल र प्रविधिको दुरुपयोग गरी भ्रम फैलाइएको भन्दै गम्भीर आपत्ति जनाएको छ। दल तथा उम्मेदवारविरुद्ध भ्रामक सामग्री बनाउने र फैलाउनेहरूलाई कानुनको दायरामा ल्याउने चेतावनी पार्टीले दिएको छ।
एमालेका प्रचार विभाग प्रमुख एवं निर्वाचन प्रेस संयोजक मीनबहादुर शाहीले बुधबार एक विज्ञप्ति जारी गर्दै प्रविधिको गैर-जिम्मेवार प्रयोगप्रति विरोध जनाएका छन्। विभिन्न कलाकारहरूको प्रयोग गरी पार्टीको निर्वाचन चिह्न परिवर्तन भएको भनी फैलाइएको हल्ला र पार्टी नेतृत्वमाथि भइरहेका आक्रमणप्रति एमालेको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ।
विशेष गरी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गरी सामाजिक सञ्जालमा प्रयोग गरिएका गालीगलौज, अमर्यादित र असभ्य शब्दहरूप्रति एमालेले कडा शब्दमा भर्त्सना गरेको छ। व्यक्तिगत मर्यादा र स्वतन्त्रताको उल्लंघन हुने गरी सामग्री प्रसारण गर्ने जो कोहीलाई कानुनी कारबाही गरिने शाहीले बताए।
आगामी फागुन २१ को निर्वाचनका लागि एमालेले १६३ क्षेत्रमा उम्मेदवारी दर्ता गरेको जानकारी दिएको छ। कर्णालीको रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्मालाई सघाउने सहमति भएको र मनाङमा भने प्राविधिक कारणले उम्मेदवारी कायम हुन नसकेको पार्टीको भनाइ छ।
























