फाइल फोटो ।विराटनगर । झापामा टिपरसँग मोटरसाइकल ठोक्किँदा बुधबार दिउँसो २ जना युवाको मृत्यु भएको छ । दमक नगरपालिका–१ बरगाछीमा दिउँसो ३ः३० बजेतिर दुर्घटना भएको हो ।
झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार दमकबाट रामचोकतर्फ जाँदै गरेको मे १ ख २८८४ नम्बरको टिपरमा दुर्गा मन्दिरबाट पेल्टीमारीतर्फ जाँदै गरेको प्र १–०१–०१८ प ८३०३ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । दुर्घटनामा परेर मोटरसाइकल चालक र पछाडि सवार रहेका युवाको मृत्यु भएको जानकारी खड्काले दिए ।
मोटरसाइकल चालक इलामको चुलाचुली गाउँपालिका–४ का २२ वर्षीय प्रवेश राई र पछाडि सवार १९ वर्षीय जनम राईको मृत्यु भएको उनले बताए । गम्भीर घाइते भएका दुवै जनालाई उद्धार गरेर उपचारका लागि दमक अस्पतालमा लगिएको थियो ।
अस्पताल पुर्याउनसाथ दिउँसो ३ः५० बजेतिर दुवै जनालाई चिकित्सकले मृत घोषित गरिदिएको प्रहरीले जनाएको छ । दुर्घटनालगत्तै प्रहरीले टिपर र चालक उदयपुरको त्रियुगा नगरपालिका–९ रातमाटेका ३२ वर्षीय हिवराज रायलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।
मोटरसाइकल पनि प्रहरीको नियन्त्रणमा छ । दुवै सवारीसाधनको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

























