
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नयाँ कांग्रेसले देश बदल्ने बताएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै उनले बदलिएको कांग्रेसले देश बदल्ने बताएका हुन् ।
‘नेपाली कांग्रेस बदलेर आएका छौं, यसले देशलाई बदल्छ । यो नयाँ नेपाली कांग्रेस हो, यो कांग्रेस २.० हो, जसले पूराना कांग्रेसको सबै असल कुराहरूलाई लिएको छ । खराब कुरालाई छाडेको छ,’ सभापति थापाले भनेका छन्,‘म तपाईंहरूसँग काम गर्न चाहन्छु, हिंड्न चाहन्छु । बदलिएको नेपाली कांग्रेस एउटा एजेन्सी हो,’ गगनले भनेका छन्, ‘यो एजेन्सीलाई प्रयोग गरेर नेपाल बदल्ने तपाईं–मेरो सपनालाई साकार पार्न चाहन्छौं ।’
आफूहरू कुनै उत्तेजना र घृणाको राजनीति नगर्ने बताउँदै सबैलाई मिलाएर अघि बढ्ने गगनको भनाइ छ । ‘यसका लागि बदलिएको नेपाली कांग्रेस, बदल्छौं देश भन्ने विश्वासका साथ हामी तपाईंहरूको माझ आएका छौं । यो देशलाई आज सम्हाल्नपर्ने पनि छ,’ भिडियो सन्देशमा उनले भनेका छन्, ‘हामी नेपाललाई सम्हाल्छौं पनि । हामी देशलाई थप ध्वंशमा पर्न दिंदैनौं ।’
उनले युवाहरूलाई पार्टनरको रुपमा लिन पनि आग्रह गरेका छन् ।
























