
काठमाडौं । निर्वाचन आयोगले आगामी दिनमा हुने निर्वाचनलाई लक्षित गर्दै प्रचारप्रसार र मतदान अवधिमा सवारीसाधनको प्रयोग व्यवस्थित गर्न ‘सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ जारी गरेको छ ।
आयोगका अनुसार निर्वाचनलाई मर्यादित र निष्पक्ष बनाउन सवारीसाधनको प्रयोगलाई स्पष्ट मापदण्डभित्र राख्न यो व्यवस्था गरिएको हो । कार्यविधिअनुसार राजनीतिक दल, उम्मेदवार वा उनका प्रतिनिधिले निर्वाचन प्रयोजनका लागि सवारीसाधन प्रयोग गर्न सम्बन्धित निर्वाचन अधिकृतबाट अनिवार्य रूपमा अनुमतिपत्र लिनुपर्नेछ ।
प्रतिनिधिसभाका उम्मेदवारले बढीमा २ वटा हलुका सवारीसाधन प्रयोग गर्न पाउनेछन् भने स्थानीय तह निर्वाचनमा पदअनुसार १ वा २ वटा सवारीसाधनको सीमा तोकिएको छ । सवारी सञ्चालन नहुने क्षेत्रमा घोडा प्रयोग गर्न सकिने व्यवस्था पनि गरिएको छ ।
मौन अवधिमा कुनै पनि सवारीसाधन प्रयोग गर्न नपाइने र अनुमति नलिई वा मौन अवधिमा सवारी प्रयोग गरेमा त्यस्ता सवारीसाधन नियन्त्रणमा लिइने प्रावधान कार्यविधिमा राखिएको छ । मतदानको दिन अनुमति प्राप्त सवारीसाधनबाहेक अन्य सवारी सञ्चालन गर्न निषेध गरिएको छ ।
एम्बुलेन्स, दमकल, खानेपानी ट्यांकर, अस्पताल सेवा, दूरसञ्चार र विद्युत् सेवाजस्ता अत्यावश्यक सेवाका सवारीसाधन तथा कूटनीतिक नियोगका सवारीसाधनलाई भने अनुमति लिन नपर्ने आयोगले जनाएको छ । आयोगका अनुसार नयाँ कार्यविधिले निर्वाचन अवधिमा सवारीसाधनको दुरुपयोग रोक्दै मतदानका लागि शान्त र स्वच्छ वातावरण बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।

























