
विराटनगर । नेकपा (एमाले) का नेता तथा मोरङ क्षेत्र नम्बर ६ का पूर्वसांसद लालबाबु पण्डितले आफ्नो ५ वर्षे कार्यकालमा ५ अर्ब रुपैयाँ बराबरको विकास योजना सञ्चालन गरेको बताएका छन्। भौतिक पूर्वाधारका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको दाबी गर्दै उनले ठुला सडकदेखि सामुदायिक भवनसम्मका काम भएको उल्लेख गरे।
विराटनगरमा आज (बिहीबार) पत्रकारहरूसँग कुरा गर्दै पूर्वमन्त्री समेत रहेका पण्डितले २६ किलोमिटर लामो गछिया–पुष्पलाल सडक खण्ड ५२ करोडमा र नेमुवा–उत्तर कोयलपुर तथा विमानस्थल नजिकको नहर सडक खण्ड २६ करोडमा निर्माण गरेको फेहरिस्त प्रस्तुत गरे। २०७४ मा निर्वाचित भएपछि आफूले २ ठुला सडक, २२ वटा सामुदायिक भवन, १६ वटा विद्यालय भवन र ४ वटा झोलुङ्गे पुल निर्माण गरेको उनले बताए।
उनले बुढीगंगा र सुन्दरहरैचा क्षेत्रका विकट बस्तीहरूमा पुल निर्माण गरी जनजीवन सहज बनाएको दाबी गरे। ‘२०७४ मा भोट माग्न जाँदा बुढीगंगाको थारुबस्तीमा बाटो नभएर छोरीचेली विवाह गर्न समेत समस्या रहेको स्थानीयले सुनाएका थिए,’ पण्डितले भने, ‘त्यहाँ तत्काल झोलुङ्गे पुल बनाएपछि अहिले आवतजावत सहज भएको छ र स्थानीयले पसल सञ्चालन गरेर जीविकोपार्जन गरिरहेका छन्।’ सुन्दरहरैचाको फोकलाङटापुमा पनि स्थानीयको माग अनुसार तत्काल पुल बनाएको उनले सम्झिए।
पण्डितले २०७९ को निर्वाचनपछि मोरङ ६ को विकास निर्माण सुस्ताएको भन्दै चिन्ता व्यक्त गरे। पछिल्लो तीन वर्षमा कुनै थप प्रगति हुन नसकेको भन्दै उनले वर्तमान जनप्रतिनिधिको कार्यक्षमतामाथि प्रश्न उठाए। सो क्षेत्रबाट निर्वाचित सांसद शेखर कोइरालाप्रति लक्षित गर्दै उनले भने, ‘म पछिका सांसदले के गर्नुभयो? संसदमा क्षेत्रका सवालबारे के बोल्नुभयो? उहाँलाई प्रश्न गर्नुहोस्। यदि निर्वाचित प्रतिनिधिले आफ्नो क्षेत्रको विकास गर्न सक्दैन भने पटक–पटक किन रोज्ने?’
























