
काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा हुने बताएकी छन्। बिहीबार भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा पुगेर मतपत्र छपाइको अनुगमन गरेपछि उनले निर्वाचनको मिति नसर्ने भन्दै सबैलाई ढुक्क हुन आग्रह गरिन्।
सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचन एकै चरणमा सम्पन्न हुने स्पष्ट पारिन्। उनले निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको र सुरक्षा व्यवस्था समेत चुस्त बनाइएकाले मतदान प्रक्रियामा कुनै बाधा नआउने बताइन्।
‘निर्वाचन सर्छ कि भन्ने कुनै पनि भ्रममा नपर्नुस्, सरकार तोकिएकै समयमा निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउन प्रतिबद्ध छ,’ उनले भनिन्। मौसमको प्रतिकूलताका कारण केही हिमाली जिल्लामा मतदानमा कठिनाइ हुन सक्ने अडकलबाजी भइरहेका बेला प्रधानमन्त्रीले सबै भूगोलमा अनुकूल वातावरण रहने र मतदाताले निर्वाध रूपमा आफ्नो मताधिकार प्रयोग गर्न पाउने विश्वास व्यक्त गरिन्।
प्रधानमन्त्री कार्कीले मतपत्र छपाइ र ढुवानीको कार्य युद्धस्तरमा भइरहेको भन्दै तयारीप्रति सन्तोष व्यक्त गरिन्। उनले युवा पुस्ता र समग्र देशले चाहेको परिवर्तनका लागि यो निर्वाचन एउटा महत्वपूर्ण कोसेढुङ्गा हुने समेत उल्लेख गरिन्।

























