मोरङ-६ को विकासका लागि मेरो उम्मेदवारी: ढकाल

Share this
805shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २३, शुक्रबार १६:५७

विराटनगर। मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विनोद ढकालले बुढीगंगा क्षेत्रको आधारभूत समस्या समाधानलाई आफूले पहिलो प्राथमिकता दिने बताएका छन्। बुढीगंगा गाउँपालिका–६ बौराहामा आयोजित स्थानीयसँगको अन्तरक्रिया कार्यक्रममा उनले सडक, खानेपानी, स्वास्थ्य र रोजगारीका मुद्दालाई आगामी योजनामा समेट्ने प्रतिबद्धता जनाए।

बौराहाका स्थानीयवासीले कच्ची सडक, शुद्ध खानेपानीको अभाव र स्वास्थ्य सेवामा पहुँच नभएको भन्दै उम्मेदवार ढकालसँग गुनासो गरेका थिए। स्थानीयले सामान्य उपचारका लागि पनि विराटनगर जानुपर्ने बाध्यता रहेको र भित्री सडकहरू वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने समस्या सुनाएका थिए। किसानहरूले सिँचाइ र कृषि उपजको बजार व्यवस्थापनको माग समेत राखेका थिए।

जनताका गुनासा सुनेपछि ढकालले विकासको केन्द्र नै जनता भएको उल्लेख गर्दै स्थानीय आवश्यकता अनुसारका योजना अघि बढाउने स्पष्ट पारे। ‘बौराहाको विकास मेरो प्राथमिकता हो, सडक, खानेपानी, स्वास्थ्य र रोजगारीलाई पहिलो स्थानमा राखेर योजनाबद्ध रूपमा काम गर्नेछु,’ ढकालले भने। उनले करिब ४० वर्षदेखि मोरङको सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय रहेकाले आफू जनताका लागि सहजै भेटिने जनप्रतिनिधि बन्ने विश्वास दिलाए।

अन्तरक्रियामा सहभागीहरूले ढकालको संवादमुखी स्वभाव र विकासप्रतिको प्रतिबद्धताप्रति सकारात्मक प्रतिक्रिया दिएका छन्। स्थानीय युवाहरूले रोजगारीका अवसर सिर्जना गर्न र शिक्षाको गुणस्तर सुधार्न उम्मेदवार ढकाललाई विशेष आग्रह गरेका थिए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.