
काठमाडौँ। ‘राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईंलाई नेपाल प्रहरीको साइबर ब्युरोले काठमाडौँको चाल्नाखेलबाट पक्राउ गरेको छ। निर्वाचन आयोगले पठाएको पत्रका आधारमा प्रहरीले प्रसाईंलाई नियन्त्रणमा लिएको हो।
प्रसाईंले निर्वाचन कसुर सजाय ऐन २०७३ र निर्वाचन आचारसंहिता २०८२ विपरीतका अभिव्यक्ति दिएको भन्दै आयोगले निगरानीका लागि प्रहरीलाई पत्र पठाएको थियो। उनले सार्वजनिक रूपमा ‘सरकारले फागुन २१ मा निर्वाचन गर्न चाहँदैन र निर्वाचन हुँदैन’ भन्ने जस्ता भ्रमपूर्ण अभिव्यक्ति दिँदै आएका थिए। साथै, शनिबार पर्सामा आयोजना गर्न लागिएको सभामा सहभागी हुन जाँदै गर्दा उनलाई बाटोबाटै पक्राउ गरिएको हो।
निर्वाचन आयोगका पदाधिकारीका अनुसार आचारसंहिता प्रतिकूल हुने गरी गतिविधि गरेकाले आवश्यक अनुसन्धानका लागि प्रहरीलाई आग्रह गरिएको थियो। प्रहरी स्रोतका अनुसार शनिबारको कार्यक्रम रोक्ने र आइतबार सामान्य तारेखमा छाड्ने रणनीतिका साथ उनलाई नियन्त्रणमा लिइएको हो।
यसअघि पनि विवादित अभिव्यक्तिका कारण माघ ५ गते पोखराबाट पक्राउ परेका प्रसाईं अर्को दिन काठमाडौँ ल्याएर सामान्य तारेखमा छुटेका थिए। अहिले पुनः निर्वाचन बिथोल्ने खालका गतिविधि र अभिव्यक्ति दिएको आरोपमा उनीमाथि कारबाही अघि बढाइएको छ।

























