‘प्रधानमन्त्रीका उम्मेदवारहरूबीच खुला बहस हुनुपर्छ’

Share this
715shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २४, शनिबार १३:५२

ललितपुर । नेपाली कांग्रेसका सहमहामन्त्री उदयशमशेर जबराले आगामी निर्वाचनका लागि विभिन्न राजनीतिक दलहरूले प्रधानमन्त्रीका रूपमा अघि सारेका उम्मेदवारहरूबीच राष्ट्रिय बहस हुनुपर्ने माग गरेका छन् । ललितपुरमा आयोजित पार्टीका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले अबको राजनीति फेसबुक र ट्विटरको भित्तामा मात्र सीमित हुन नहुने बताए ।

जबराले अन्य दलका नेताहरूलाई सार्वजनिक स्थलमा आएर देशको अर्थतन्त्र, परराष्ट्र नीति, कृषि, पर्यटन र जलस्रोतका विषयमा खुला बहस गर्न चुनौती दिए । उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय बहसका लागि तत्परता देखाएको स्मरण गर्दै अन्य युवा उम्मेदवारहरू यसबाट किन पछि हटेको भनी प्रश्न समेत गरे ।

सहमहामन्त्री जबराले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति लक्षित गर्दै उनीहरू ‘नयाँ’ नभई पुरानै अनुहार भएको दाबी गरे । रास्वपा दुई पटक सरकारमा गइसकेको र सभापति रवि लामिछाने दुई पटक गृहमन्त्री बनिसकेको उल्लेख गर्दै उनले विवादित नेतृत्वले देशमा परिवर्तन ल्याउन नसक्ने ठोकुवा गरे ।

ललितपुर निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार समेत रहेका जबराले आगामी निर्वाचनमा कांग्रेसले गगन थापालाई प्रधानमन्त्रीको रूपमा अघि सारेको औपचारिक घोषणा गरे । उनले कार्यकर्ताहरूलाई सम्बोधन गर्दै यो चुनाव केवल व्यक्तिको जितहारको विषय मात्र नभई गगन थापालाई प्रधानमन्त्री बनाउने र देशमा नवीन परिवर्तन ल्याउने अवसर भएको बताए । उनले अबको सरकार ‘गगनको सरकार’ हुने भन्दै सोही अनुसार जनमत जुटाउन आग्रह गरे ।

जेनजी आन्दोलनपछि कांग्रेसले आफूलाई समयानुकूल बदलेको चर्चा गर्दै राणाले पार्टीभित्रको आन्तरिक लोकतन्त्र र नेतृत्व परिवर्तनको प्रक्रियाले कांग्रेसलाई अहिलेको सबैभन्दा नवीन पार्टी बनाएको दाबी गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.