
विराटनगर । राष्ट्रिय ऊर्जाशील पार्टीका केन्द्रीय अध्यक्ष एवं मोरङ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार योगेन्द्र मण्डलले आफ्नो चुनावी अभियान सुरु गरेका छन् । शनिबार विराटनगरमा सम्पर्क कार्यालयको उद्घाटन गर्दै मण्डलले चुनावी अभियान सुरु गरेका हुन् ।
२०७९ सालको निर्वाचनमा मोरङ-५ बाट स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएका मण्डलले पछिल्लो राजनीतिक परिवर्तन र ‘जेनजी’ आन्दोलनपछि आफ्नै नेतृत्वमा राष्ट्रिय ऊर्जाशील पार्टी गठन गरेका थिए ।
चुनावी अभियानको सुरुवात गर्दै मण्डलले २०७९ मा निर्वाचित भएका देशभरका सांसदहरूमध्ये आफूले सबैभन्दा धेरै र प्रभावकारी काम गरेको दाबी गरे । २ वर्ष ८ महिनाको छोटो कार्यकालमा जनस्तरमा देखिने गरी परिवर्तन ल्याएको उनको भनाइ थियो ।
“मैले यो छोटो अवधिमा ४०० भन्दा बढी युवाहरूलाई प्रत्यक्ष रोजगारीको अवसर सिर्जना गरेको छु,” मण्डलले भने,” १६५ वटा क्षेत्र मध्ये सबैभन्दा धेरै जनताकाे काम गर्ने सांसद म नै हुँ ।”
शिक्षा क्षेत्रमा आमूल सुधारका लागि उनले अाफ्नाे क्षेत्रका ४५ वटा सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गराएकाे जानकारी दिए । जनताकै सहजताका लागि माेरङकाे कटहरीमा जीवन विकास सामुदायिक अस्पताल सुरु गरेकाे उनकाे भनाइ छ ।
आफ्नो कार्यकालमा वर्षाैदेखिको नागरिकताको समस्या समाधान भएको उनले बताए । नागरिकता विहिन नागरिकलाई नागरिकता वितरण गर्ने कानुन पास गर्नका लागि निरन्तर पहल गरेको बताए ।
उनले आगामी निर्वाचनमा पनि रोजगारी सिर्जना, उद्यमशीलताको विकास र शैक्षिक गुणस्तर सुधारलाई नै मुख्य एजेन्डा बनाएको स्पष्ट पारे ।
सम्पर्क कार्यालय उद्घाटनका क्रममा विभिन्न पार्टीका नेताहरू राष्ट्रिय ऊर्जाशील पार्टीमा प्रवेश गरेका छन् । नेकपा मोरङ क्षेत्र नम्बर ५ (क) का इन्चार्ज भरतलाल बहरदारसहित प्रभावशाली नेताहरूलाई अध्यक्ष मण्डलले पार्टीमा स्वागत गरे ।
योगेन्द्र मण्डलले अभियान सुरु गरेसँगै मोरङ क्षेत्र नम्बर ५ मा चुनावी सरगर्मी बढेको छ । यस क्षेत्रमा मण्डलसँगै अन्य ठूला दलका हेभीवेट उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । चुनावी मैदानमा नेकपाबाट शिवकुमार मण्डल, जनता समाजवादी पार्टी (जसपा) बाट राजकुमार यादव, नेकपा (एमाले) का मनोज अग्रवाल, नेपाली कांग्रेसका फुलकुमार लालवानी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की आशा झालगायत चुनावी मैदानमा छन् ।
























