
विराटनगर । आइसीसी टी–२० विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले दुई पटकको च्याम्पियन इङल्यान्डसँग आज पहिलो खेल खेल्दैछ ।
मुम्बइको वानखेडे क्रिकेट स्टेडियममा आइतबार दिउँसो सवा ३ बजे नेपाली टोली इङल्यान्डविरुद्ध मैदान उत्रने छ ।
नेपालले समूह चरणका आफ्ना चार खेल वानखेडे स्टेडियममा नै खेल्नेछ । समग्रमा तेस्रो र लगातार दोस्रो पटक नेपालले विश्वकप खेल्न लागेको हो ।
अघिल्लो पटक विश्वकप खेलेका १० र नयाँ खेलाडीले यसपटकको विश्व कपमा नेपालको प्रतिनिधित्व गर्दैछन् । आरिफ शेख, बसिर अहमद, लोकेश बम, शेर मल्ल र नन्दन यादव विश्वकपमा डेब्युको तयारीमा छन् ।



















