फाइल फाेटाेविराटनगर । झापाको अर्जुनधारामा स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका एक पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ ।
माघ २१ गते बिहान करिब ६:३० बजे अर्जुनधारा नगरपालिका वडा नं. ३ स्थित गरुवा चोकमा दुर्घटना भएको थियो । विर्तामोडबाट खुदुनाबारीतर्फ जाँदै गरेको प्र.१-०१-०१८ प १६७ नम्बरको स्कुटीले बाटो काट्दै गरेका स्थानीय ४५ वर्षीय राजन बास्कोटालाई ठक्कर दिएको थियो ।
स्कुटीको ठक्करबाट टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका बास्कोटालाई तत्काल उपचारका लागि विर्तामोडस्थित बीएण्डसी अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा उपचारकै क्रममा माघ २४ गते राति ९:१० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न स्कुटर चालक इलामको माई नगरपालिका वडा नं. ३ बस्ने ३५ वर्षीया अमृता राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

























