
खोटाङ । खोटाङको दक्षिणी क्षेत्रलाई उदयपुरसँग जोड्ने सुनकोसी नदीस्थित बंशिलाघाटमा अस्थायी बेलिब्रिज जडान गरी सञ्चालनमा ल्याइएको छ। खोटाङको बराहपोखरी गाउँपालिका-५ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका-१ को सिमानामा पर्ने यो पुल शनिबारदेखि सञ्चालनमा आएको हो।
बंशिलाघाटमा पक्की पुल निर्माणमा भइरहेको चरम ढिलासुस्तीका कारण स्थानीयले सास्ती भोग्दै आएका थिए। नागरिकको समस्यालाई मध्यनजर गर्दै कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले ५१.८१ मिटर लम्बाइ र ४.१ मिटर चौडाइको यो बेलिब्रिज जडान गरेको हो। वर्षायाममा नदीको बहाव बढ्ने भएकाले यो पुल आगामी जेठसम्म मात्र सञ्चालन हुनेछ।
गुरुकुल विल्डर्स एण्ड सप्लायर्स प्रालि, रौतहटले ५७ लाख रुपैयाँमा यो पुल जडानको काम सम्पन्न गरेको हो। कोशी प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईको पहलमा आर्थिक वर्ष २०८१/०८२ मा खरिद गरिएको बेलिब्रिजलाई अहिले बंशिलाघाटमा प्रयोगमा ल्याइएको हो।
यो पुल सञ्चालनमा आएपछि खोटाङ र भोजपुरका केही पालिकाका बासिन्दालाई उदयपुरको बेलटार हुँदै इटहरी, विराटनगर र धरान जस्ता सहरसम्म पुग्न निकै सहज भएको छ। यसअघि नदी वारपार गर्न डुङ्गाको भर पर्नुपर्ने वा लामो घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो।

























