
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा वेदका ऋचाहरूबाट प्रभावित रहेको बताएका छन्। झापामा आयोजित एक धार्मिक अनुष्ठानलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो धारणा राखेका हुन्।
सम्बोधनका क्रममा ओलीले नेपाल समृद्ध हुनुपर्ने र नेपाली जनता सुखी हुनुपर्ने आफ्नो सोच प्राचीन मन्त्रहरूमा आधारित रहेको उल्लेख गरे। उनले ‘सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयाः’ को भाव नै ‘समृद्ध नेपाल, सुखी नेपाली’ भएको दाबी गरे। सबै मान्छे सुखी हुन्, कसैलाई पनि दुःख नपरोस् र सबैले भलो देख्न पाऊन् भन्ने पुरानो मन्त्रलाई नै आफूले आधुनिक नाराका रूपमा अघि बढाएको उनले स्पष्ट पारे।
अध्यक्ष ओलीले विश्वमा ज्ञान र सृष्टिको रचना गर्नेहरू नेपालीकै पूर्वज रहेको चर्चा समेत गरे। शास्त्र बनाउने मात्र नभई विश्वकै पहिलो शल्य चिकित्सक (सर्जन) समेत हाम्रै धर्तीका ऋषिका छोरा भएको उनले बताए। त्रेता युगमा विश्वामित्रका छोरा सुश्रुतले नै विश्वमा पहिलो पटक सर्जरी सुरु गरेको भन्दै उनले पुर्खाहरूको गौरवपूर्ण इतिहासको स्मरण गरे।
सबै नागरिक डर र त्रासमुक्त वातावरणमा बाँचून् र सर्वत्र शान्ति छाओस् भन्ने नै आफ्नो चाहना रहेको उनले बताए। वेदले देखाएको बाटो र आधुनिक विकासको लक्ष्य एउटै रहेको उनको तर्क छ।

























