कांग्रेसले सबै नेता-कार्यकर्तालाई चुनावी मैदानमा खट्न दियो निर्देशन

Share this
651shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २५, आइतबार १२:४८

काठमाडौँ । नेपाली कांग्रेसले आगामी निर्वाचनलाई लक्षित गरी आफ्ना सबै तहका नेता र कार्यकर्तालाई आ–आफ्नो क्षेत्रमा अनिवार्य रूपमा खट्न निर्देशन दिएको छ। आइतबार बिहान बसेको कार्यसम्पादन समितिको भर्चुअल बैठकले ‘फागुन २१ का लागि मेरो २१ दिन’ भन्ने प्रतिबद्धतासहित चुनावी अभियानमा होमिन निर्णय गरेको हो।

पार्टीले ‘नेपाली कांग्रेस निर्वाचन परिचालन निर्देशिका’ जारी गर्दै केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रमा विशेष जिम्मेवारी पाएका बाहेक अन्य सबैलाई तत्काल आ–आफ्नो मतदान क्षेत्रमा फर्कन भनेको छ। ‘जसको पदीय जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ’ भन्ने नीति अन्तर्गत सबै साथीहरू चुनाव मैदानमा क्रियाशील हुनुपर्ने निर्णय कांग्रेसले गरेको छ।

बैठकले एउटा वडाको क्रियाशील सदस्य अर्को वडा वा क्षेत्रमा गएर क्रियाशील हुन नपाउने नियमसमेत बनाएको छ। सबै सदस्यले आफ्नै भूगोलमा बसेर मतदाता रिझाउने कार्यमा लाग्नुपर्ने पार्टीको रणनीति छ। यसैगरी, पार्टीका भ्रातृ र शुभेच्छुक संस्थामा रहेका नेता तथा कार्यकर्तालाई पनि अनिवार्य रूपमा आफ्नो क्षेत्रमा जान र चुनावी प्रचारमा जुट्न भनिएको छ।

निर्वाचनको मिति नजिकिँदै जाँदा कांग्रेसले आन्तरिक व्यवस्थापन र कार्यकर्ता परिचालनलाई तीव्रता दिएको हो। सबै तहका कमिटीलाई आफ्नो क्षेत्रको चुनावी कमाण्ड सम्हाल्न र मतदातासँगको सम्बन्ध सुदृढ बनाउन पार्टीले स्पष्ट निर्देशन दिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.