
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईँलाई बिनाशर्त रिहा गर्न माग गरेको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबार एक विज्ञप्ति जारी गर्दै प्रसाईँको गिरफ्तारीप्रति कडा आपत्ति जनाएका हुन्।
अध्यक्ष लिङ्देनले सरकारले प्रसाईँलाई दुःख दिने र फरक विचारलाई दबाउने नियतले पटक-पटक पक्राउ गरेको बताए। राज्यले एउटा व्यक्तिमाथि प्रतिशोध साँध्नु अनुचित भएको र यसले नागरिकको स्वतन्त्रतापूर्वक बोल्न तथा शान्तिपूर्ण विरोध गर्न पाउने संवैधानिक अधिकारको हनन गरेको राप्रपाको ठहर छ।
विज्ञप्तिमा भनिएको छ, ‘नागरिकले स्वतन्त्रतापूर्वक हिँड्न, डुल्न, बोल्न, लेख्न र शान्तिपूर्ण विरोध समेत गर्न पाउने संविधान प्रदत्त अधिकारलाई कुण्ठित गरिएको छ। प्रसाईँलाई बिना सर्त अविलम्ब रिहा गर्न राप्रपा सरकारसँग माग गर्दछ।’

























