
काठमाडौँ । मेडिकल व्यवसायी एवं ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईंलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय भएको छ । साइबर ब्युरोका एक अधिकृतले प्रसाईंलाई रिहा गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए ।
प्रसाईंलाई गत शुक्रबार नेपाल प्रहरीले काठमाडौँको चाल्नाखेलबाट पक्राउ गरेको थियो। उनीमाथि निर्वाचन विरोधी गतिविधि गरेको आरोप लगाइएको थियो । उनलाई हिरासतमा राखेर अनुसन्धान गरेपछि प्रहरीले हाजिर जमानीमा छाड्ने निर्णय गरेको हो ।
यसअघि पनि प्रसाईं सार्वजनिक शान्ति विरुद्धको कसुरमा गत माघ ५ गते पोखराबाट पक्राउ परेका थिए । त्यतिबेला पनि उनी माघ ६ गते हाजिर जमानीमै रिहा भएका थिए । पछिल्लो समय प्रसाईं विभिन्न राजनीतिक तथा सामाजिक मुद्दामा आक्रामक अभिव्यक्ति दिएकै कारण पटक–पटक प्रहरी नियन्त्रणमा पर्दै आएका छन् ।

























