कोशीका मुख्यमन्त्रीको गुनासो : ‘संविधानले समन्वय लेख्यो, व्यवहारले बेवास्ता गर्‍यो’

Share this
736shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २५, आइतबार १८:२०

विराटनगर । संविधानले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय, सहकार्य र सहअस्तित्वका आधारमा शासन सञ्चालन हुने स्पष्ट व्यवस्था गरे पनि व्यवहारमा कार्यान्वयन हुन नसक्दा कोशी प्रदेश सरकारले अपेक्षित ढंगले काम गर्न नसकेको गुनासो मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरेका छन् ।

विराटनगरमा आइतबार बसेको प्रदेशस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले स्थानीय तह र प्रदेश सरकारबाट ९९ प्रतिशत काम सम्पन्न भइसकेका कतिपय विषय संघीय सरकारमा पठाउँदा पनि लामो समयसम्म अल्झिएर बस्ने गरेको भन्दै संघीय संरचनामै प्रश्न उठाएका छन् । कार्कीले संविधानको मर्मअनुसार तीनै तहका सरकारहरूबीच सहकार्य र समन्वय हुनुपर्ने भए पनि व्यवहारमा संघीय सरकारबाट अपेक्षित सहयोग नपाउँदा प्रदेश सरकारका योजना, कार्यक्रम र नीतिगत निर्णयहरू कार्यान्वयनमा कठिनाइ आएको स्पष्ट पारे ।

‘संविधानले अधिकार बाँडफाँड मात्रै नभए सहकार्यको भावना पनि दिएको छ,’ उनले भने, ‘तर, संघीय तहबाट त्यो भावना व्यवहारमा नदेखिँदा त्यसको प्रत्यक्ष असर प्रदेशको विकासमा परेको छ ।’ प्रदेशस्तरीय विकास समस्या समाधान समितिमा छलफलमा ल्याइएका विभिन्न समस्याहरूका बारेमा धारणा राख्दै मुख्यमन्त्री कार्कीले प्रदेशमा देखिएका समस्याहरू प्रदेशमै समाधान गर्नुपर्नेमा जोड दिए ।

संघसँग समन्वय आवश्यक पर्ने विषयहरूमा संघीय सरकारसँग प्रभावकारी सहकार्य हुनुपर्ने बताउँदै उनले कतिपय अवस्थामा प्रदेश सरकारले आफ्नै सिर्जनात्मक र वैकल्पिक उपाय अपनाएर अघि बढ्नुपर्ने बाध्यता आएको पनि उल्लेख गरे । उनले सबै सरोकारवाला निकायलाई समन्वयको भावना लिएर काम गर्न आग्रह गरेका छन् ।

बैठकमा कोशी प्रदेशको सार्वजनिक खर्च मापदण्ड तथा मितव्ययिता निर्देशिकाले विकास निर्माणका काममा अप्ठ्यारो सिर्जना गरेको विषयलाई पनि गम्भीर रूपमा उठाइएको थियो । खर्च नियन्त्रणका नाममा बनाइएका मापदण्ड व्यवहारिक नहुँदा कार्यालय सञ्चालनदेखि आयोजना कार्यान्वयनसम्म समस्या देखिएको भन्दै त्यसको पुनरावलोकन आवश्यक रहेको धारणा व्यक्त गरिएको थियो ।

साथै प्रदेशको राजस्व संकलन कमजोर हुँदै गएको र राजस्वको दायरा विस्तार गर्न ठोस रणनीति आवश्यक रहेको विषय पनि बैठकको छलफलमा समेटिएको थियो । कानुन तथा कार्यविधिहरू समयमै निर्माण हुन नसक्दा विकासका काम अघि बढ्न नसकेको, समपूरक बजेटबाट प्राप्त हुने आयोजनाहरू व्यवस्थित रूपमा सञ्चालन हुन नसकेको तथा बेरुजु बढ्दै जानु प्रदेश सरकारका लागि ठूलो चुनौती बनेको विषय पनि बैठकमा उठाइयो ।

बहुवर्षीय आयोजनाहरूले प्रदेश सरकारमाथि भविष्यमा ठूलो आर्थिक दायित्व थप्ने सम्भावना रहेको र सानासाना आयोजना कार्यान्वयनमै अत्यधिक प्रशासनिक झन्झट देखिएको विषयमा समेत विस्तृत छलफल भएको थियो । प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाले बैठकमा उठेका विषयबारे जानकारी दिँदै संघीय सरकारले प्रदेश सरकार मातहत रहेको यातायात क्षेत्रको अधिकार खुम्च्याउँदै गएको र कृषि आयकरलगायत प्रदेशका स्पष्ट क्षेत्राधिकारप्रति समेत केन्द्रले गम्भीरता नदेखाएको विषय बैठकमा गम्भीरतापूर्वक उठाइएको बताए ।

उनका अनुसार अधिकार कटौती र संघीय बेवास्ताले प्रदेशको आर्थिक स्रोत सुदृढीकरणमा प्रत्यक्ष असर परिरहेको छ । बैठकमा कोशी प्रदेश सरकारका मन्त्रीहरू र विभिन्न मन्त्रालयका सचिवहरूले आआफ्ना मन्त्रालयमा देखिएका संरचनागत, कानुनी र प्रशासनिक समस्याबारे धारणा राखेका थिए ।

छलफलमा तत्काल समाधान गर्न सकिने समस्याहरू फागुनभित्रै समाधान गर्ने गरी स्पष्ट कार्ययोजना बनाएर अघि बढ्ने निर्णय गरिएको छ । प्रदेशका प्रमुख सचिव राजेन्द्र पौडेलले बैठकमा उठाइएका विषयहरू संघीय सरकारसँग औपचारिक र निरन्तर समन्वय गरेर समाधान खोजिने बताउँदै प्रदेश सरकारले आफ्नै तहबाट गर्नुपर्ने कामहरू भने कुनै ढिलाइ नगरी तत्कालै अघि बढाइने जानकारी दिए ।

उनले संघ र प्रदेशबीचको समन्वयलाई प्रभावकारी बनाउन संस्थागत पहल गरिने पनि स्पष्ट पारेका छन् । संविधान कार्यान्वयनको १ दशक भइसक्दा पनि संघीय संरचनाभित्र गम्भीर असहयोग र अधिकार विवादका मुद्दाले कोशी प्रदेश मात्रै नभएर समग्र संघीय व्यवस्थाको प्रभावकारितामाथि नै प्रश्न खडा गर्न थालेको छ ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.