
काठमाडौं। सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध दायर भएको भ्रष्टाचार मुद्दाको सुनुवाइ सोमबार स्थगित भएको छ। विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र हेमन्त रावलको इजलासमा तोकिएको पेसी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुरोधमा स्थगित गरिएको हो।
अख्तियारले २०८२ जेठ १९ गते सोडारीविरुद्ध १ करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो। सोडारीले पदमा रहँदा पदीय मर्यादा विपरीत कार्य गरी अकूत सम्पत्ति आर्जन गरेको अभियोग अख्तियारको छ।
अनुसन्धानका क्रममा सोडारीको ८५ लाख ५१ हजार ३३४ रुपैयाँ मात्र वैधानिक आय देखिएको थियो। तर सोही अवधिमा उनले श्रीमती गीता सोडारी र छोरा बबिको नाममा जग्गा खरिद, घर निर्माण तथा अन्य विलासी शीर्षकमा १ करोड ९३ लाख ८९ हजार ६३७ रुपैयाँ खर्च गरेको भेटिएको अभियोगपत्रमा उल्लेख छ। आयभन्दा बढी देखिएको १ करोड ८ लाख रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेकाले उनीमाथि भ्रष्टाचारको मुद्दा चलेको हो।

























