
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्रमाथि प्रहार गर्ने विश्व प्रतिक्रियावादको भूराजनीतिक चलखेल नेपालमा पनि देखिएको बताएका छन्। सोमबार काठमाडौं क्षेत्र नम्बर ५ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले सामाजिक सञ्जालमा स्टन्ट गरेकै भरमा विश्व साम्राज्यवादले चलखेल बढाएको उल्लेख गरे।
विचार, राजनीति, सिद्धान्त र इतिहास नभएकाहरू सामाजिक सञ्जालको भरमा लोकप्रिय हुन खोजेको प्रचण्डको भनाइ छ। यस्ता प्रवृत्तिको प्रतिवाद गर्न नयाँ संकल्प र समीक्षासहित जनताका निम्ति समर्पित भएर लाग्ने तागत चाहिएको उनले बताए। त्यही तागत सृष्टि गर्न आफूहरूले नयाँ ढंगले पार्टी निर्माण गरेर अगाडि बढेको उनले स्पष्ट पारे।
संयोजक प्रचण्डले सुशासन, भ्रष्टाचार नियन्त्रण र सामाजिक न्यायका पक्षमा नेकपाले अघि सारेका योजनाले जनतामा फेरि आशा र भरोसा जगाएको दाबी गरे। उनले आर्थिक विकास र रोजगारी सिर्जना गर्ने नीतिहरूले गर्दा पार्टीप्रति आकर्षण बढ्दै गएको समेत बताए।
























