
काठमाडौं । सरकारले जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिनका लागि गठन गरेको जाँचबुझ आयोगको कार्यकाल थप गरेको छ ।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले आयोगलाई थप २५ दिन समय दिने निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले आयोगको समयावधि थप गरिएको जानकारी दिएका छन् ।
उनका अनुसार भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएका घटनाको निष्पक्ष र विस्तृत छानबिनका लागि आयोगलाई थप समय आवश्यक देखिएपछि अवधि बढाइएको हो । ‘भदौ २३ र २४ गतेको घटनाको निष्पक्ष छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगको समयावधि २५ दिन थप गर्ने निर्णय गरिएको छ,’ गृहमन्त्री अर्यालले भने ।
यसअघि तोकिएको समयभित्र प्रतिवेदन तयार गर्न नसकेपछि आयोगले थप समयको माग गरेको थियो । आयोगले आन्दोलनका क्रममा भएका गतिविधि, सुरक्षाकर्मीको भूमिका, आन्दोलनकारीमाथि भएको व्यवहार तथा सम्भावित अधिकार उल्लंघनका विषयमा अध्ययन गरिरहेको छ । सरकारले आयोगको प्रतिवेदनका आधारमा आवश्यक कानुनी र नीतिगत निर्णय लिने बताउँदै आएको छ ।

























