कांग्रेसले कुशासन अन्त्य गर्दै विधिको शासन स्थापना गर्ने अभियान सुरु गर्‍यो : सभापति थापा

Share this
757shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २६, सोमबार १८:२५

विराटनगर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसले कुशासन अन्त्य गर्दै विधिको शासन स्थापना गर्ने अभियान सुरु गरेको बताएका छन् ।

कुशासनको अन्त्य, भ्रष्टाचार नियन्त्रण र विधिको शासन स्थापित गर्ने लक्ष्यसहित गाउँगाउँ पुगेर जनताको प्रश्न सुन्न र जवाफ दिने काममा सक्रिय हुन कार्यकर्तालाई थापाको निर्देशन छ । विराटनगरमा सोमबार आयोजित कोशी प्रदेशस्तरीय कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति थापाले नेपालमा सुशासन स्थापना, सबैसँग समान व्यवहार र सबै युवाले अवसर पाउने भरोसा दिलाउने संकल्प प्रस्तुत गरेका छन् ।

उनले भने, ‘कांग्रेसले के गर्छ भन्ने कुरा गाउँगाउँबाट सोधिएको छ । हामी कुशासन अन्त्य गर्दै विधिको शासन लागू गर्ने प्रतिबद्धता जनाउन चाहन्छौं ।’ उनले यसअघि सरकारले पंगु बनाएका निकायमा सुधार ल्याउने प्रतिबद्धता पनि व्यक्त गरे ।

सभापति थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, अदालत र महान्यायधिवक्ताको कार्यालयलाई जनमुखी बनाउने, सेवा सहज र द्रुत बनाउने लक्ष्यका साथ सुधार गर्ने योजना अघि सारेका छन् । उनले आगामी दिनमा नेपाली कांग्रेसले देशलाई थप द्वन्द्वमा नपार्ने गरी संविधानको निरन्तरता सुनिश्चित गर्ने, संविधान संशोधनमार्फत प्रदेशहरुलाई सबल बनाउने, दलित, मुस्लिम, अल्पसंख्यक, मधेशी र महिलाका हक अधिकार सुनिश्चित गर्ने, धर्म र संस्कृतिको संरक्षण गर्ने योजना रहेको बताए ।

उनले २०८२ साल फागुन २१ पछिको ५ वर्षलाई भ्रष्टाचारविरुद्धको महाअभियानको वर्ष बनाउने योजना रहेको पनि सार्वजनिक गरे । सभापति थापाले कांग्रेसमात्रै सबैलाई जोड्ने क्षमता राख्ने पार्टी भएको दाबी गर्दै बहुमतका साथ जिताउन कार्यकर्तामा आग्रह गरेका छन् ।

उनले पहिलो ५ वर्षलाई प्रदर्शन र डेलिभरीको वर्षका रूपमा लिँदै सोही अनुसार कांग्रेसले योजना बनाएर अघि बढेको बताए । कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसमा युवा, महिला, दलित, अल्पसंख्यक र मधेशीको भविष्य सुरक्षित रहेको भन्दै सबैलाई कांग्रेसको पक्षमा आउन आह्वान गरे ।

आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार रहेका सरिता प्रसाईं, ज्ञानेन्द्र कार्की, भीष्मराज आङ्देम्बे, विजयकुमार गच्छदार र गुरुराज घिमिरेले देशलाई वर्तमान अप्ठ्यारो परिस्थितिबाट बाहिर निकाल्ने क्षमता कांग्रेससँग मात्रै भएको बताए । उनीहरुले बहुमतका साथ कांग्रेसको विजय सुनिश्चित गराउन आग्रह गरेका छन् ।

कार्यक्रममा सहभागी नेताहरुले देशमा केही नभएको भ्रम फैलाउने प्रवृत्तिको आलोचना गर्दै, सडक, खानेपानी, विद्युत् र कृषि क्षेत्रलगायतमा विभिन्न विकास भएको तथ्य प्रस्तुत गरेका थिए । कांग्रेसको प्राथमिकता जनताको विश्वास कायम राख्नु रहेको उनीहरुले स्पष्ट पारेका छन् ।

नेपाली कांग्रेसले यस अभियानमार्फत गाउँगाउँमा पुगेर जनताको विश्वास जित्ने र कुशासनको अन्त्य गर्दै विधिको शासनलाई दृढता प्रदान गर्ने लक्ष्य अघि सारेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.