खड्गबहादुर फागो : व्यक्ति र पार्टीसँग होइन, समस्यासँग प्रतिस्पर्धा

Share this
704shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २७, मंगलबार ०८:१८

विराटनगर । राजनीतिलाई सत्ता प्राप्तिको साधनभन्दा माथि उठाएर जनजीवनसँग प्रत्यक्ष जोडिएको सेवा, जिम्मेवारी र समाधानको माध्यम बनाइनुपर्छ भन्ने स्पष्ट दृष्टिकोणसहित नेपाली कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार खड्गबहादुर फागो मोरङ निर्वाचन क्षेत्र नम्बर–१ को चुनावी मैदानमा उत्रिएका छन् ।

‘मेरो प्रतिस्पर्धा व्यक्ति वा पार्टीसँग होइन । यस क्षेत्रले वर्षौंदेखि भोग्दै आएका समस्या र तिनको समाधानसँग हो,’ भन्ने उनको भनाइले मोरङ–१ को चुनावी बहसलाई आरोप प्रत्यारोप र व्यक्तिकेन्द्रित राजनीतिबाट बाहिर ल्याएर नीतिगत, मुद्दामुखी र समाधानकेन्द्रित दिशातर्फ मोड्ने प्रयास गरेको देखिन्छ । केराबारी गाउँपालिकामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै फागोले राजनीतिलाई भाषण, नारामात्र र चुनावी वाचामा सीमित नगरी नतिजामुखी बनाइनुपर्नेमा जोड दिए ।

उनका अनुसार मोरङ–१ का नागरिक अझै पनि रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि, सडक, खानेपानी, सहरी व्यवस्थापन तथा आधारभूत सेवामा दिगो र व्यवहारिक समाधानको खोजीमै छन् । ‘समस्या सबैलाई थाहा छ । तर, समाधानका लागि इमानदार कार्यान्वयन चाहिन्छ,’ उनले भने, ‘राजनीति जनताको जीवन सजिलो बनाउने माध्यम बन्नुपर्छ ।’

मोरङ–१ भौगोलिक रूपमा तराई र पहाडको संगम क्षेत्र हो । उर्लाबारी, मधुमल्ला, लेटाङ र केराबारी बजार आसपासका सहरी तथा अर्धसहरी क्षेत्र एकातिर छन् भने मिक्लाजुङको रमिते, लेटाङको सिंहदेवी, केराबारीको पाटीगाउँजस्ता बस्तीहरू पहाडी भेगमा पर्छन् ।

यही भौगोलिक विविधताले विकासका आवश्यकता र चुनौतीहरू पनि फरकफरक बनाएको फागोको विश्लेषण छ । तराई क्षेत्रमा सहरी व्यवस्थापन, उद्योग प्रवर्धन, रोजगारी र पूर्वाधार प्रमुख प्राथमिकता बनेका छन् । पहाडी भेगमा सडक पहुँच, स्वास्थ्य सेवा, गुणस्तरीय शिक्षा र कृषि पूर्वाधार अझै आधारभूत आवश्यकता रहेको उनी बताउँछन् ।

‘सबै ठाउँका लागि एउटै नीति र एउटै योजना लागू गर्दा विकास सन्तुलित हुँदैन,’ फागो भन्छन्, ‘भूगोलअनुसार योजना बनाएर मात्र समावेशी विकास सम्भव हुन्छ ।’ पूर्व जनप्रतिनिधिका रूपमा उर्लाबारी नगरपालिकाको नगर प्रमुख भएर काम गर्दा आफूले व्यवहारिक राजनीति बुझ्ने अवसर पाएको फागो बताउँछन् ।

सडक, विद्युत्, खानेपानी, विद्यालय र स्वास्थ्य संस्थाको विस्तारमा केही उपलब्धि भए पनि ती जनअपेक्षाअनुसार पर्याप्त नभएको उनी खुलेर स्वीकार गर्छन् । ‘नीति कागजमा राम्रो देखिन्छ । तर, कार्यान्वयन कति चुनौतीपूर्ण हुन्छ भन्ने कुरा मैले स्थानीय तहमा काम गर्दा प्रत्यक्ष अनुभूति गरेको छु,’ उनले भने, ‘यही अनुभवले मलाई अबको राजनीति योजना बनाउने मात्र होइन । त्यसलाई इमानदारीपूर्वक कार्यान्वयन गर्ने हुनुपर्छ भन्ने निष्कर्षमा पुर्‍याएको छ ।’

उनको राजनीतिक एजेण्डामा सुशासनलाई विकासको मूल आधारका रूपमा प्रस्तुत गरिएको छ । फागोका अनुसार असहिष्णुता, गुटबन्दी, स्वार्थ समूह र व्यक्तिगत प्रतिस्पर्धाले विकासको गति अवरुद्ध बनाएको छ ।

‘व्यक्तिगत लाभ र शक्ति प्रदर्शनभन्दा साझा लक्ष्यमा केन्द्रित हुन सके मात्र जनताको विश्वास जित्न सकिन्छ,’ उनी भन्छन् । पारदर्शिता, जवाफदेहिता र जनसहभागितामूलक निर्णय प्रक्रियाबिना दिगो विकास सम्भव नहुने उनको धारणा छ ।

मोरङ–१ मा युवाको विदेश पलायन सबैभन्दा गम्भीर सामाजिक र आर्थिक समस्यामध्ये १ भएको फागोले औँल्याएका छन् । स्थानीय तहमा रोजगारी सिर्जना गर्न नसकेसम्म विकासको अर्थ नहुने उनको स्पष्ट तर्क छ ।

कृषि क्षेत्रमा आधुनिक प्रविधि भित्र्याएर उत्पादन बढाउने, बजारको सुनिश्चितता गर्ने, मूल्य शृंखला विकास गर्ने र साना तथा मझौला उद्योगलाई प्रोत्साहन गर्ने योजना उनको प्राथमिकतामा छ । यसले युवालाई गाउँमै रोजगारी दिने, आत्मनिर्भर अर्थतन्त्रको आधार तयार गर्ने र समाजमा आशा जगाउने विश्वास उनले व्यक्त गरे ।

शिक्षा र स्वास्थ्य क्षेत्रमा पहुँच केही बढे पनि गुणस्तर अझै गम्भीर चुनौती बनेको फागोको निष्कर्ष छ । ‘अस्पताल छ तर सेवा छैन । विद्यालय छ तर गुणस्तरीय शिक्षा छैन भन्ने अवस्था अन्त्य हुनुपर्छ,’ उनी भन्छन् । दक्ष जनशक्ति, पूर्वाधार सुधार, आधुनिक प्रविधिको प्रयोग र व्यवस्थापन सुधारमार्फत यी क्षेत्रलाई प्रभावकारी बनाउने प्रतिबद्धता उनले जनाएका छन् ।

आगामी कार्ययोजनाका रूपमा फागोले मोरङ–१ लाई आर्थिक, शैक्षिक, पर्यापर्यटन र सामाजिक रूपमा सन्तुलित विकासको मोडेल क्षेत्र बनाउन सकिने सम्भावना औँल्याएका छन् । तर, त्यसका लागि दीर्घकालीन सोच, इमानदार कार्यान्वयन र निरन्तर अनुगमन अपरिहार्य हुने उनको भनाइ छ ।

‘विकास सडक र भवनले मात्र नापिँदैन,’ उनी भन्छन्, ‘नागरिकको जीवन कति सहज, सुरक्षित र सम्मानित भयो भन्ने कुराले विकासको वास्तविक मापन हुन्छ ।’ नेपाली कांग्रेस संगठनात्मक पुनर्संरचनाको चरणमा रहेको उल्लेख गर्दै फागोले यसले कार्यकर्तामा नयाँ ऊर्जा र भरोसा थपेको दाबी गरेका छन् ।

व्यक्ति केन्द्रित राजनीति नभएर समस्या केन्द्रित राजनीति नै मोरङ–१ को आवश्यकता भएको उनी बताउँछन् । यही दृष्टिकोणलाई मतदाताले कति आत्मसात् गर्छन् भन्ने प्रश्नसँगै मोरङ–१ को चुनावी बहस अब नीतिगत र जिम्मेवार दिशातर्फ अघि बढ्दै गएको देखिन्छ ।

कांग्रेस नेता कार्यकर्ताका अनुसार फागो अनुभवी, जनप्रिय र विकासमुखी नेताका रूपमा परिचित छन् । विक्रम संवत २०४७ सालदेखि सक्रिय राजनीतिक यात्रामा रहेका उनी विद्यार्थी कालदेखि नै संगठन निर्माण, जनसम्पर्क र लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहे ।

प्रजातन्त्र, लोकतान्त्रिक मूल्य–मान्यता र जनताको अधिकारका लागि निरन्तर संघर्ष गर्दै आएका फागो स्थानीय तहदेखि प्रदेश र केन्द्रीय तहसम्म जिम्मेवारी बहन गर्दै अनुभवी नेतृत्वका रूपमा स्थापित भएका छन् । उनी नेपाल तरुण दल उर्लाबारी–२ का पूर्ववडा सभापति, तरुण दल मोरङका पूर्वसदस्य तथा उपाध्यक्ष, नेपाली कांग्रेस उर्लाबारी–२ का पूर्ववडा सदस्य तथा सहसचिव, साविक निर्वाचन क्षेत्र नम्बर–९ (हाल १) का क्षेत्रीय सदस्य, सचिव, कार्यकारी सहसंयोजक र सभापति हुँदै निर्वाचन क्षेत्र नम्बर–१ का पूर्वक्षेत्रीय सभापति समेत रहिसकेका छन् ।

उर्लाबारी नगरपालिकाको नगर प्रमुखका रूपमा सफल कार्यकाल पूरा गरेका फागो हाल नेपाली कांग्रेस कोशी प्रदेशका सहमहामन्त्री हुन् । राजनीतिक शास्त्रमा स्नातक र ग्रामीण विकासमा स्नातकोत्तर अध्ययन गरेका फागोले मोरङ–१ को समग्र विकासका लागि दीर्घकालीन योजना, रोजगारी सिर्जना, युवा तथा महिला सशक्तीकरण, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा विशेष प्राथमिकता, सुशासन, पारदर्शिता र जवाफदेहिताको सुनिश्चितता तथा जनताको आवाज संसदसम्म मजबुत रूपमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्दै आएका छन् ।

२०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा मोरङ–१ मा फागोले अघि सारेको ‘व्यक्ति होइन, समस्याविरुद्धको प्रतिस्पर्धा’ भन्ने राजनीतिक दृष्टिकोणले चुनावी बहसलाई नयाँ आयाम दिएको छ । परिचित नाराभन्दा फरक, समाधान खोज्ने राजनीतिलाई कति विश्वास गर्ने भन्ने निर्णय लिने अधिकार भने मतदाताको हातमा छ ।

फागोसँग नेकपा (एमाले) कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडा, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट कुलप्रसाद साम्बा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट यज्ञमणि न्यौपाने, श्रम संस्कृति पार्टीबाट शान्ति पाख्रिनलगायत प्रतिस्पर्धामा छन् । मोरङ–१ मा १७ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

यसपटक मोरङ–१ को चुनावी मैदान निकै भिडभाडयुक्त र रोचक छ । जहाँ नयाँ र पुराना शक्तिबीच कडा टक्कर देखिन्छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.