
वीरगन्ज । वीरगन्जको एक अवैध गोदाममा छापा मार्न पुगेको टोलीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। सोमबार वीरगन्ज महानगरपालिका–१० आदर्शनगरस्थित मदनप्रसाद गुप्ताको घरमा सञ्चालित गोदाममा छापा मार्ने क्रममा सशस्त्र प्रहरीमाथि स्थानीय व्यापारी र तस्करको समूहले आक्रमण गरेको थियो।
भन्सार छली ल्याइएको सामान भण्डारण गरिएको विशेष सूचनाका आधारमा वीरगन्ज भन्सार कार्यालय र सशस्त्र प्रहरीको संयुक्त टोली त्यहाँ पुगेको थियो। टोलीले अवैध कपडा बरामद गरी सवारी साधनमा लोड गर्न लाग्दा आक्रोशित समूहले ढुङ्गामुढा प्रहार गरेको थियो। आक्रमणमा परेर तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् भने सशस्त्र प्रहरीको एउटा स्कारपियो र एउटा वानटन ट्रकमा क्षति पुगेको छ।
पर्सा प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार घटनामा संलग्न रहेको आशंकामा सोमबार रातिसम्म चार जनालाई नियन्त्रणमा लिइएको छ। प्रहरीले सिसीक्यामेरा फुटेजको आधारमा अन्य संलग्नहरूको पनि खोजी गरिरहेको छ। अनुसन्धान प्रभावित हुन सक्ने भन्दै पक्राउ परेकाहरूको नाम भने अहिले सार्वजनिक गरिएको छैन।
भिडन्तका बाबजुद सशस्त्र प्रहरीले उक्त गोदामबाट करिब १२ लाख ५० हजार मूल्य बराबरको अवैध कपडा बरामद गर्न सफल भएको छ। बरामद गरिएका सामग्रीहरू आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ।

























