
खोटाङ । भारतको मेघालयस्थित पूर्वी जयन्तिया हिल्सको कोइलाखानीमा भएको भीषण विस्फोटमा ज्यान गुमाउने नेपालीको संख्या चार पुगेको छ। बेपत्ता रहेका खोटाङका ५० वर्षीय रत्न राईको शव पहिचान भएसँगै मृतकको संख्या थपिएको हो।
हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका राईको शव अस्पतालमा जलेको अवस्थामा फेला परेको थियो। उनको शरीरको बनोटका आधारमा आफन्तले पहिचान गरेका हुन्। रोजगारीका लागि गत असोजमा मेघालय पुगेका राईको मृत्युको खबरले परिवार र गाउँ नै शोकमा डुबेको छ। शव प्राप्त नभए पनि उनका छोराहरूले माघ २५ गतेदेखि नै काजकिरिया सुरु गरिसकेका थिए।
यसअघि सोही विस्फोटमा परी खोटाङको बराहपोखरी गाउँपालिका–१ का तीन जनाको मृत्यु भइसकेको छ। ज्यान गुमाउनेमा २७ वर्षीय पूर्णबहादुर खपाङ्गी, २४ वर्षीय सुरेन्द्र खपाङ्गी र ३५ वर्षीय नरबहादुर खपाङ्गी छन्। पूर्णबहादुर र सुरेन्द्र एउटै घरका दाजुभाइ हुन्।
माघ २२ गते भएको उक्त विस्फोटमा खपाङ्गी दाजुभाइको घटनास्थलमै र नरबहादुरको उपचारका क्रममा भोलिपल्ट मृत्यु भएको थियो। खपाङ्गी त्रयको गत माघ २६ गते शिलाङको झालुपारामा दाहसंस्कार गरिएको छ।

























