
काठमाडौं । काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बस रामेछापको तामाकोशी नदीमा दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ। पछिल्लो विवरण अनुसार दुर्घटनामा ज्यान गुमाउनेहरूको संख्या बढ्दै गएको र थप खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेर घाइते भएका ८ जनामध्ये ७ जनाको अवस्था गम्भीर रहेकाले उनीहरूलाई थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ। बसमा ठ्याक्कै कति यात्रु सवार थिए भन्ने यकिन विवरण अझै खुल्न सकेको छैन।
अहिले घटनास्थलमा सशस्त्र प्रहरीको गोताखोर टोलीले नदीमा बेपत्ता हुन सक्ने अन्य यात्रुहरूको खोजी कार्यलाई तीव्रता दिएको छ। नदीको बहाव र बस डुबेको अवस्थाका कारण उद्धारमा केही कठिनाइ भइरहेको बताइएको छ।

























