
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले अख्तियार दुरुपयोग कुनै सामान्य त्रुटि नभएर राज्यको वैधानिकता र सामाजिक न्यायमाथिको गम्भीर चुनौती भएको बताएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औँ स्थापना दिवसका अवसरमा बुधबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो धारणा राखेका हुन्।
राष्ट्रपति पौडेलले शक्ति र पद हुँदैमा जोकोही कानुनी जबाफदेहिताबाट मुक्त हुँदैन भन्ने विश्वास आम नागरिकमा दिलाउनु पर्नेमा जोड दिए। उनले अख्तियार दुरुपयोगले आर्थिक क्षति मात्र नभई राज्य र नागरिक बिचको भरोसाको सेतुमा समेत चोट पुर्याउने उल्लेख गरे। सार्वजनिक शक्तिको व्यक्तिगत स्वार्थका लागि प्रयोग हुँदा शासन प्रणालीप्रति निराशा जन्मिने र लोकतन्त्रको आधारभूत मूल्यमा क्षति पुग्ने उनको भनाइ थियो।
सत्ता, शक्ति र धन प्राप्तिको अनावश्यक मोहले मानिसलाई भ्रष्टाचारतर्फ प्रवृत्त गराउने भन्दै राष्ट्रपतिले सदाचार र नैतिकतालाई जीवन पद्धतिको रूपमा अगाडि बढाउन आग्रह गरे। “म भ्रष्टाचार गर्दिन र हुन पनि दिन्न” भन्ने प्रण गर्ने हो भने भ्रष्टाचारलाई जरैदेखि निर्मूल गर्न सकिने उनको विश्वास छ।
उनले सुशासन र पारदर्शिताविना लोकतन्त्रको प्रतिफल जनताको घरदैलोमा पुर्याउन नसकिने स्पष्ट पारे। विकास र समृद्धिका लागि भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त रहेको बताउँदै राष्ट्रपति पौडेलले सबै प्रकारका भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउनुपर्ने बताए।

























