
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले आफ्ना निकट व्यक्तिलाई कारबाही नहोस् भन्ने चाहना राख्ने तर अरूलाई मात्र कारबाही हुनुपर्छ भन्ने प्रवृत्ति गलत रहेको बताएका छन्। अख्तियारको ३५ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो दोहोरो मापदण्ड रोक्न जरुरी रहेको बताए।
प्रमुख आयुक्त राईले बर्सेनि उही प्रकृतिका भ्रष्टाचारका घटना दोहोरिरहेको भन्दै आयोगले दिएका सुझावहरू सरकारले कार्यान्वयन नगरेकोमा असन्तुष्टि व्यक्त गरे। जिम्मेवार पदाधिकारीहरूले आयोगको सुझावलाई देखाएर आफ्नो जिम्मेवारी पन्छाउने गरेको उनको भनाइ थियो।
भ्रष्टाचारमा देखिएका नयाँ प्रवृत्तिका कारण नियन्त्रण कार्य थप चुनौतीपूर्ण बन्दै गएको राईले उल्लेख गरे। उनले आयोग एक्लैको प्रयासले मात्र भ्रष्टाचार नियन्त्रण सम्भव नहुने भन्दै यसका लागि सामूहिक प्रयास र दक्ष जनशक्तिको खाँचो रहेको औँल्याए।
सरकारका कार्यकारी निकायहरू भ्रष्टाचारविरुद्ध निर्मम र सक्रिय हुनुपर्नेमा जोड दिँदै उनले दण्डात्मक विधिले मात्र भ्रष्टाचार नरोकिने बताए। सुशासन कायम गर्न सबै क्षेत्रबाट इमानदार प्रयास हुनुपर्ने उनको तर्क थियो।

























