
विराटनगर। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढेसँगै मोरङ क्षेत्र नम्बर ६ मा चुनावी रौनक चुलिएको छ। यसै सिलसिलामा नेपाली कांग्रेसका वरिष्ठ नेता एवं उम्मेदवार डा. शेखर कोइरालाले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत बूढीगंगा गाउँपालिकाका ६ वटा वडामा एकैदिन पार्टीका चुनावी सम्पर्क कार्यालयहरू उद्घाटन गरेर अभियानलाई तीव्रता दिएका छन्।
डा. कोइरालाले बूढीगंगा गाउँपालिका–१, २, ३, ४, ६ र ७ मा स्थापना गरिएका कार्यालयहरूको उद्घाटन गर्दै विगतका वर्षहरूमा यस क्षेत्रमा भएको विकास निर्माणको फेहरिस्त प्रस्तुत गरे। उनले खानेपानी, सडक सञ्जाल विस्तार र स्वास्थ्य संस्थाको स्तरोन्नतिमा उल्लेखनीय प्रगति भएको दाबी गर्दै भने, ‘अघिल्ला वर्षको तुलनामा बूढीगंगाको स्वरूप फेरिएको छ। विकास नभएको भन्ने आरोप यथार्थमा आधारित छैन।’ उनले नेपालमा शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासको जग कांग्रेसले नै बसाएको दाबी समेत गरे।
यस पटकको निर्वाचनमा मोरङ ६ मा डा. कोइराला र नेकपा एमालेका विनोद ढकालबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। निर्वाचन नजिकिएसँगै कांग्रेसले टोल-टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्ने रणनीति अख्तियार गरेको छ। डा. कोइराला यतिबेला विभिन्न पेशा-व्यवसायमा आबद्ध समूहहरूसँग छलफल, भेटघाट र घरदैलो अभियानमा व्यस्त छन्।
कार्यक्रममा समानुपातिक उम्मेदवारहरू रुक्मिणी कोइराला र प्रमिला गच्छदारले संविधानको रक्षा र लोकतान्त्रिक मूल्य-मान्यताको संरक्षणका लागि कांग्रेसलाई विजयी गराउन आह्वान गरे। बूढीगंगाका कांग्रेस उपसभापति किरण चौधरीले पार्टीले वडा तहसम्मै सांगठनिक गतिविधि सुदृढ बनाइरहेको जानकारी दिए। डा. कोइरालाले स्थानीय बासिन्दाका समस्या सुन्दै आगामी दिनमा अझ प्रभावकारी ढङ्गले काम गर्ने प्रतिबद्धता जनाएका छन्।
























