
काठमाडौं । देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले आज (बिहीबार) पनि केही प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा बदलीसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च क्षेत्रहरूमा साधारणतया बदली रहेको छ भने बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको छ । महाशाखाले जारी गरेको दैनिक मौसम बुलेटिन अनुसार बिहीबार दिउँसो तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ ।
विशेषगरी पूर्वी तराई क्षेत्रमा बिहानको समयमा दृश्यता कम हुन सक्ने भएकाले सडक तथा हवाई यातायातमा सावधानी अपनाउन आग्रह गरिएको छ । दिउँसोको समयमा कोशी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा सामान्य बदली रहनेछ भने देशका अन्य पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ ।
तराईका अधिकांश स्थानमा भने मौसम सामान्यतया सफा रहनेछ । महाशाखाका अनुसार कोशी प्रदेशका उच्च पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै बागमती र गण्डकी प्रदेशका उच्च हिमाली क्षेत्रका १–२ स्थानमा पनि हल्का वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ । उच्च हिमाली क्षेत्रमा चिसो बढ्न सक्ने भएकाले त्यहाँका बासिन्दा तथा पर्यटकलाई आवश्यक सतर्कता अपनाउन सुझाव दिइएको छ ।
बिहीबार राति भने देशको अधिकांश भू–भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ । तराईका थोरै स्थानमा तुवाँलो लाग्ने सम्भावना छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने बताइएको छ ।
मौसमविद्हरूका अनुसार पश्चिमी वायुको प्रभाव कमजोर भए पनि पूर्ण रूपमा हटिसकेको छैन । यसकै कारण उच्च पहाडी र हिमाली क्षेत्रमा बदली तथा हल्का वर्षा एवं हिमपातको सम्भावना रहेको हो ।

























