
उर्लाबारी । नेपाली कांग्रेसबाट मोरङको निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार रहेका खड्गबहादुर फागोले यसअघि अधुरा रहेका विकास निर्माणका योजनालाई पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।
केराबारी गाउँपालिका वडा–२ स्थित सिंहदेवीमा बुधबार आयोजित चुनावी कार्यक्रममा स्थानीयका समस्या सुन्दै समाधानलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका हुन् । स्थानीयले २०७० सालदेखि अलपत्र रहेको सिंहदेवी–लक्ष्मीपुर–बथाह ट्र्याक खोल्ने योजना शीघ्र सम्पन्न गरी स्तरोन्नति तथा कालोपत्रे गर्न माग गरे ।
साथै, मलीबासे खोलीटार हुँदै समितेन–राजारानी जोड्ने सडक निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याए । करिब ३ हजार जनसंख्या रहेको बस्तीमा खानेपानीको चरम समस्यासँगै ‘१ घर, १ धारा’ कार्यक्रम अपूर्ण रहनु र सरकारी स्वास्थ्य संस्थामा डाक्टर अभावका कारण सहज उपचार सेवा नपाउनु प्रमुख समस्या रहेको गुनासो स्थानीयको छ ।
साविकमा सिंगो गाविस रहेको सिंहदेवी क्षेत्र हाल केराबारी गाउँपालिकाको एउटा वडा बनेपछि सेवा सुविधा खुम्चिएको स्थानीयहरूको भनाइ थियो । स्थानीयका समस्या र माग सुनेपछि उम्मेदवार फागोले मतका लागि झुटा आश्वासन नबाँड्ने स्पष्ट पार्दै विजयी गराएमा प्राथमिकताका आधारमा सडक, खानेपानी र स्वास्थ्य समस्याको दीर्घकालीन समाधानका लागि स्थानीयसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
साथै, जेफाले र हिलेथाम क्षेत्रको पूर्वाधार विकास, हिलेथाम खेलमैदान स्तरोन्नति तथा अम्लिसो–अदुवा खेतीलाई व्यावसायिक बनाउँदै कृषकको आयआर्जन वृद्धि गर्ने सम्भावना रहेको फागोको भनाइ छ । कार्यक्रममा नेपाली कांग्रेस मोरङका सभापति तथा निवर्तमान सांसद डिगबहादुर लिम्बूले विकास र सुशासनप्रति कांग्रेसको प्रतिबद्धता दोहोर्याउँदै विगतमा ढाकरमा सातुसामल बोकेर हिँड्नुपर्ने यस क्षेत्रको बाटो अहिले सवारीसाधन चल्ने अवस्थामा पुगेको स्मरण गरे ।
विकासको भरोसा दिएर अधुरा योजना पूरा गर्न सक्षम नेतृत्व आवश्यक रहेको बताउँदै लिम्बूले फागोलाई मत दिन मतदातासँग आग्रह गरेका छन् । कार्यक्रममा महाधिवेशन प्रतिनिधि गोमा नेपाल, गाउँपालिका सचिवसहित स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो ।
























