
विराटनगर। नेकपा ( एमाले) का नेता तथा मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विनोद ढकाललाई पितृ शोक परेको छ। ढकालका १०१ वर्षीय बुवा विष्णुप्रसाद ढकालको बिहीबार बिहान विराटनगरस्थित आफ्नै निवासमा निधन भएको हो।
स्वर्गीय ढकालको अन्तिम संस्कार आजै दिउँसो ३ बजे विराटनगरको परोपकार घाटमा गरिने पारिवारिक स्रोतले जनाएको छ। उम्मेदवार ढकाललाई शोक परेको खबर पाएलगत्तै विभिन्न राजनीतिक दलका नेताहरू संवेदना प्रकट गर्न उनको निवास पुगेका छन्।
यसै क्रममा सोही निर्वाचन क्षेत्रका प्रतिस्पर्धी उम्मेदवार एवं नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला ढकाल निवास पुगेर समवेदना व्यक्त गरेका छन्। कोइरालासँगै नेपाली कांग्रेस विराटनगर महानगर समितिका सभापति दीपक चापागाईं लगायतका नेताहरू पनि ढकालको निवास पुगेर परिवारजनप्रति सहानुभूति प्रकट गरेका हुन्।

























