
सोलुखुम्बु। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी र हिमाली जिल्लाको वस्तुस्थिति बुझ्न प्रधानमन्त्री सुशीला कार्की आज बिहीबार सोलुखुम्बु पुगेकी छन्। प्रधानमन्त्री कार्कीका साथमा उनका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ र प्रेस सल्लाहकार रामबहादुर रावलसहितको टोली बिहान सोलुखुम्बु पुगेको हो।
टोली हेलिकप्टरमार्फत सुरुमा नाम्चे पुगेर त्यहाँको अवस्था अवलोकन गरी अहिले सदरमुकाम सल्लेरी आइपुगेको छ। प्रधानमन्त्री कार्कीलाई सल्लेरीमा प्रमुख जिल्ला अधिकारी र सुरक्षा अंगका जिल्ला प्रमुखहरूले स्वागत गर्दै जिल्लाको सुरक्षा अवस्था र निर्वाचनको तयारीबारे विस्तृत जानकारी गराएका छन्।
प्रेस सल्लाहकार रावलका अनुसार जिल्लाका सुरक्षा र प्रशासनिक अधिकारीहरूले फागुन २१ गतेको निर्वाचन शान्तिपूर्ण रूपमा गराउन कुनै समस्या नरहेको ब्रिफिङ प्रधानमन्त्रीलाई गरेका छन्। प्रधानमन्त्रीले हिमाली क्षेत्रमा निर्वाचनको पूर्वसन्ध्यामा सुरक्षा संवेदनशीलता र मतदाताको अवस्थाबारे विशेष चासो राखेकी छन्।
त्यस क्रममा कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ गते नै चुनाव हुने बताइन् । स्थानीय पत्रकारलाई प्रतिक्रिया दिँदै नउले देशभर एकैदिन चुनाव हुने स्पष्ट पारिन् । ‘पूरै देशभर एकैदिन फागुन २१ मा चुनाव सम्भव छ । हामीले मौसमको पनि अध्ययन गरिरहेका छौं । मौसमले चुनावलाई असर गर्लाजस्तो देखिएन,’ उनले भनिन् ।

























