
पोखरा । पूर्वउपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूमाथि लागेका आरोपका सम्बन्धमा अन्ततः अदालतबाटै न्याय प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।
जिल्ला अदालत कास्की पोखरामा बिहीबार तारिख बुझ्न उपस्थित भएका लामिछानेले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै अहिले विभिन्न अदालतमा उपस्थित भई तारिख बुझ्नुपर्ने अवस्था रहेको उल्लेख गरे । उनले भने, ‘सबैले न्याय पाउने थलो अदालत नै हो । ममाथि लागेका आरोपका विषयमा पनि अदालतले निष्पक्ष रूपमा निर्णय गर्नेमा म विश्वस्त छु ।’
आफू कानुनी राज्यको पक्षमा उभिएको व्यक्ति भएकाले कानुनी तथा अदालती प्रक्रियालाई सधैं सम्मान गर्ने उनको धारणा थियो । लामिछानेले मुद्दा दायर भएका अदालतहरूमा तारिख बुझ्न आफैं उपस्थित हुनुपर्ने कानुनी प्रावधानअनुसार आफूले समय व्यवस्थापन गरिरहेको बताए । ‘जहाँ–जहाँ मुद्दा दर्ता भएका छन्, त्यहाँ तारिख बुझ्न जानु मेरो दायित्व हो । त्यसैअनुसार तालिका मिलाएर हिँडिरहेको छु,’ उनले भने ।
उनले रास्वपा कानुनी शासन स्थापित गर्ने उद्देश्यका साथ अघि बढेको दल भएको उल्लेख गर्दै कानुनी प्रक्रियालाई इमानदारीपूर्वक बहन गर्नु आफ्नो जिम्मेवारी भएको बताए । ‘हामी कानुनी राज्यको कुरा गर्छौं । त्यसैले कानुन र अदालतको प्रक्रियालाई पूर्ण रूपमा पालना गर्नु हाम्रो कर्तव्य हो,’ उनले स्पष्ट पारे ।
लामिछानेविरुद्ध दायर भएका मुद्दाहरूको सुनुवाइ प्रक्रियामा रहेकै अवस्थामा उनले सार्वजनिक रूपमा न्यायिक प्रक्रियाप्रति सम्मान प्रकट गर्दै अदालतको निर्णयलाई स्वीकार गर्ने प्रतिबद्धता जनाएका हुन् । लामिछानेविरुद्ध विभिन्न अदालतमा सहकारीको रकम घोटालासँग सम्बन्धित मुद्दा दर्ता भएर विचाराधीन अवस्थामा छन् ।
























