‘यो चुनाव देश जलाउने र जोगाउनेबीचको निर्णायक भिडन्त हो’

Share this
730shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २९, बिहीबार १४:४२

बागलुङ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी फागुन २१ गते हुने चुनाव सामान्य राजनीतिक प्रतिस्पर्धा मात्र नभएर देशको दिशा र भविष्य तय गर्ने निर्णायक संघर्ष भएको बताएका छन् ।

उनले यो निर्वाचनलाई राष्ट्रको स्वाधीनता जोगाउने र राष्ट्रलाई कमजोर तथा अस्थिर बनाउने शक्तिबीचको आमनेसामनेको लडाइँका रूपमा व्याख्या गरे । बागलुङको बुर्तिबाङमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले चुनावलाई उम्मेदवारबीचको प्रतिस्पर्धामा सीमित गरेर नहेर्न आग्रह गरे ।

उनका अनुसार अहिलेको राजनीतिक परिस्थिति सामान्य छैन । राष्ट्रको अस्तित्व, स्वतन्त्रता र आत्मनिर्णयको अधिकारसँग जोडिएको संवेदनशील मोडमा देश उभिएको उनको भनाइ छ ।

उनले भने, ‘भदौ २४ देखि २६ गतेसम्म झण्डै यो देशमा राज्यविहीनताको अवस्था देखापर्‍यो । देश कसले चलाइरहेको छ भन्ने गम्भीर प्रश्न उठ्यो । यस्तो अवस्थामा हुने चुनावलाई निर्वाचन अभियानका रूपमा मात्र बुझ्नु हुँदैन । यो राष्ट्रलाई जलाएर ध्वस्त पार्न चाहने र जसरी पनि सुदृढ एवं समृद्ध बनाउन चाहनेबीचको छिनाझपटी हो ।’

प्रचण्डले देशभित्र र बाहिर सक्रिय विभिन्न प्रवृत्तिहरूले नेपाललाई अस्थिर बनाउने प्रयास गरिरहेको आरोप लगाए । उनले विध्वंसकारी सोच, अतिवाद र विदेशी प्रभावबाट राष्ट्रलाई जोगाउन जनताको एकता अपरिहार्य रहेको बताए । ‘देशलाई विध्वंसतिर धकेल्ने तत्वहरू र तिनलाई मलजल गर्ने विदेशी शक्तिहरू सक्रिय छन्,’ उनले भने, ‘यसका विरुद्ध राष्ट्रलाई एकताबद्ध गर्नुपर्ने आवश्यकता छ ।’

उनले विश्व राजनीतिमा देखिएको तीव्र परिवर्तन र शक्ति प्रतिस्पर्धाले नेपालजस्ता साना मुलुकलाई थप संवेदनशील अवस्थामा पुर्‍याएको टिप्पणी गरे । चीन र भारतजस्ता २ ठूला देशको बीचमा अवस्थित नेपालले सावधानी नअपनाए ‘साँढेको जुधाइँ, बाछाको मिचाइँ’ हुने खतरा रहेको उनको भनाइ थियो । ‘हामीले आफ्नै विवेक, एकता र स्वाधीन निर्णय क्षमताबाट देशलाई अघि बढाउनुपर्छ,’ उनले भने ।

अन्तर्राष्ट्रिय घटनाक्रम उल्लेख गर्दै उनले रुस–युक्रेन युद्ध र भेनेजुएलाको राजनीतिक घटनालाई उदाहरणका रूपमा प्रस्तुत गरे । शक्तिशाली राष्ट्रहरूको स्वार्थ र हस्तक्षेपका कारण सार्वभौम मुलुकहरूमा अस्थिरता बढेको उनको टिप्पणी थियो । ‘आजको विश्व व्यवस्था हेर्दा ‘जसको लाठी, उसैको भैंसी’जस्तो देखिन्छ,’ उनले भने, ‘यस्तो अवस्थामा नेपालले आफ्नो राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ ।’

प्रचण्डले सामाजिक सञ्जालमार्फत फैलाइने फेक न्युज र भ्रामक सूचनाले जनतालाई अन्योलमा पार्ने काम भइरहेको पनि बताए । उनले सुनियोजित रूपमा भ्रम सिर्जना गरेर जनमत प्रभावित गर्न खोजिएको दाबी गरे । ‘सोसियल मिडियामा थुप्रै झुटा खबर र अफवाह फैलाइँदै छन् । जनताको दिमागलाई कन्फ्युजनमा पार्ने प्रयास भइरहेको छ । यसमा सजग रहन जरुरी छ,’ उनले भने ।

उनले कार्यकर्तालाई जनतामाझ पुगेर सत्य तथ्य राख्न, भ्रम चिर्न र चुनावलाई राष्ट्रको भविष्यसँग जोडेर बुझाउन निर्देशन दिए । ‘यो चुनावलाई राष्ट्रको बृहत्तर हित, राष्ट्रिय स्वाधीनता र नेपाली जनताको आत्मनिर्णयको अधिकारको रक्षा गर्ने अभियानका रूपमा लिनुपर्छ,’ उनले भने ।

प्रचण्डले अहिलेको निर्वाचन सत्ताको परिवर्तनको विषय मात्रै नभएर देश कुन मार्गमा अघि बढ्छ भन्ने प्रश्नसँग जोडिएको बताए । उनले देशलाई समृद्ध, आत्मनिर्भर र सुदृढ बनाउन राजनीतिक स्थिरता, राष्ट्रिय एकता र सचेत मतदाताको भूमिका निर्णायक हुने बताए ।

बुर्तिबाङको भेलामा उपस्थित कार्यकर्ताहरूलाई सम्बोधन गर्दै उनले आगामी दिनमा जनताको साथ र समर्थनमार्फत राष्ट्रहितको एजेन्डालाई जिताउनुपर्ने धारणा राखे । ‘हामी देश जोगाउने अभियानमा होमिनुपर्छ,’ उनले भने, ‘यो दलको जितहारको नभएर राष्ट्रको भविष्यको प्रश्न हो ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.