‘आलोपालो प्रधानमन्त्री बन्ने प्रथा अन्त्य गर्नुपर्छ’

Share this
752shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १, शुक्रबार ०६:२७

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देशमा आलोपालो प्रधानमन्त्री बन्ने परिपाटीको अन्त्य गर्नुपर्ने बताएका छन्। बुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै नेता शर्माले राजनीतिक स्थिरताका लागि यस्तो विकृत प्रथा रोक्नुपर्नेमा जोड दिएका हुन्। उनले आगामी सरकारको नेतृत्वका लागि गगनकुमार थापालाई प्रधानमन्त्रीको रूपमा अगाडि सारिएको समेत जानकारी दिए।

मुलुकको विकास र राजनीतिक स्थायित्वका लागि कांग्रेसले यो निर्णय लिएको शर्माको भनाइ छ। उनले अबको निर्वाचनपछि आलोपालो सरकार चलाउने परम्परा अन्त्य हुनुपर्ने बताए। शर्माले राजनीतिक स्थिरताका लागि ‘विजेताले सबै पाउने’ भन्ने नयाँ सिद्धान्त समेत प्रस्ताव गरेका छन्। यस प्रस्ताव अनुसार चुनावमा सबैभन्दा ठूलो दल बन्ने पार्टीले नै पूर्ण पाँच वर्ष सरकार चलाउन पाउनुपर्नेछ।

यदि संसदमा बहुमत (१३८ सिट) नपुगेको खण्डमा समानुपातिक हिस्साबाट आवश्यक सिट संख्या थप गरेर भए पनि ठूलो दललाई नै बहुमत पुर्‍याइदिने कानूनी र संवैधानिक व्यवस्था गर्नुपर्ने उनको तर्क छ। कार्यक्रममा शर्माले रूपन्देहीका पाँचै क्षेत्रमा कांग्रेस उम्मेदवारहरूलाई विजयी गराउन अपील गर्दै कार्यकर्ताहरूलाई रुख चिन्हमा गोलबद्ध हुन आग्रह गरे। उनले राष्ट्रिय संवाद र गोलमेच सम्मेलनमार्फत चुनावी सुधारका प्रस्तावहरू पारित गर्नुपर्ने आवश्यकता औँल्याए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.