सुनसरी–२ मा एमालेको टिकट वितरण : युवालाई अवसर कि परिवारवादको पुनरावृत्ति ?

Share this
715shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १, शुक्रबार ०७:५७
फोटो क्याप्सन : सुजन लामा र उनका बुवा भक्त लामा ।

इटहरी । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा सुनसरीको निर्वाचन क्षेत्र नम्बर २ राजनीतिक बहसको केन्द्रमा आएको छ । यसपटक बहसको विषय चुनावी एजेन्डा मात्रै नभएर नेकपा (एमाले)भित्रै उठेको परिवारवादको प्रश्न पनि हो ।

पार्टीले प्रतिनिधिसभा सदस्यका लागि ३८ वर्षीय सुजन लामालाई उम्मेदवार बनाउने निर्णय गरेपछि संगठनभित्र र बाहिर दुवैतर्फ चर्चा चुलिएको छ । यो निर्णयले युवा पुस्तालाई अवसर दिने रणनीति हो कि प्रभावशाली पारिवारिक पृष्ठभूमिको निरन्तरता ? भन्ने प्रश्न उठाएको छ । सुजन लामा एमालेका युवा नेता हुन् । उनी राष्ट्रिय युवा संघ नेपालको कोशी प्रदेश कमिटी अध्यक्षका रूपमा सक्रिय छन् ।

२०६७ मंसिर ७ गते तत्कालीन एमाले अध्यक्ष झलनाथ खनालबाट टीका लगाएर औपचारिक रूपमा पार्टी प्रवेश गरेका लामा त्यसयता संगठनात्मक गतिविधिमा निरन्तर देखिँदै आएका छन् । व्यवसायसँगै राजनीतिलाई अघि बढाइरहेका उनले रामधुनी क्षेत्रमा ह्याचरी उद्योग र मोरङमा पानी उद्योग सञ्चालन गर्दै आएका छन् ।

शिक्षा र स्वास्थ्यलाई प्रमुख चुनावी एजेन्डा बनाउने घोषणा गरेका उनले युवाकेन्द्रित कार्यक्रम, प्रत्यक्ष घरदैलो भेटघाट र मतदातासँगको संवादलाई तीव्र बनाइएको दाबी गरेका छन् । उनको औपचारिक शैक्षिक योग्यता भने एसएलसीमै सीमित रहेको विवरण सार्वजनिक भइसकेको छ ।

तर, सुजनको उम्मेदवारीसँगै उठेको मुख्य प्रश्न उनको पारिवारिक पृष्ठभूमिसँग जोडिएको छ । उनका बुवा भक्त लामा इटहरी उपमहानगरपालिका–४ का निर्वाचित वडाध्यक्ष हुन् । भक्त नेपाल यातायात मजदुर संगठनका पूर्वकेन्द्रीय उपाध्यक्ष तथा एमाले कोशी प्रदेश कमिटीका पूर्वसदस्यसमेत रहिसकेका छन् ।

स्थानीय तहदेखि पार्टी संगठनसम्म प्रभावशाली नेताका रूपमा चिनिने भक्तको राजनीतिक हैसियत र सञ्जालकै आधारमा टिकट वितरण भएको आरोप एमालेभित्रैको एक धारले लगाइरहेको छ । सुजनको टिकट भएपछि पार्टीभित्रको असन्तुष्टि खुलेर बाहिर आएको छ । युवालाई अवसर कि परिवारवादको पुनरावृत्ति ? भनेर प्रश्न उठाइएको छ । सामाजिक सञ्जालमा केही नेता कार्यकर्ताले टिकट वितरण प्रक्रियामाथि प्रश्न उठाउँदै ‘स्थानीय संरचना र पारिवारिक प्रभाव’ निर्णायक बनेको टिप्पणी गरेका छन् ।

केहीले त ‘एमाले सक्किने मेलो’ भन्ने कठोर अभिव्यक्ति दिइरहेका छन् । टिकट वितरणमा एमालेका केन्द्रीय सचिव शेरधन राई सँगको निकटता र नेताहरूको सिफारिस प्रभावकारी बनेको चर्चा पनि संगठनभित्र चलिरहेको छ । यद्यपि, यसबारे आधिकारिक धारणा भने सार्वजनिक गरिएको छैन ।

यस आरोपप्रति भक्त लामाले युवालाई अवसर दिनुपर्ने दबाबकै परिणामस्वरूप सुजनले टिकट पाएको तर्क गरेका छन् । विशेषगरी गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’पछि पार्टीभित्र नयाँ पुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने आवाज बलियो बनेको एमाले वृत्तको विश्लेषण छ । समर्थकहरूले भने सुजनलाई संगठनमा लामो समयदेखि सक्रिय, युवामाझ पहुँच बनाएका र व्यवसायिक पृष्ठभूमिसहित राजनीतिक अभ्यास गरेका पात्रका रूपमा प्रस्तुत गर्दै यो निर्णयलाई ‘पुस्तान्तरणको संकेत’ बताएका छन् ।

सुनसरी–२ को राजनीतिक इतिहास हेर्दा यो क्षेत्र परम्परागत रूपमा कांग्रेस र एमालेबीच प्रतिस्पर्धात्मक रहँदै आएको छ । २०७९ को निर्वाचनमा एमालेका भीमप्रसाद आचार्य विजयी भएका थिए । उनले कांग्रेसका सीताराम मेहतामाथि विजय हासिल गरेका थिए । त्यसभन्दा अघि २०७४ मा कांग्रेस उम्मेदवार मेहता विजयी भएका थिए । यसपटक भने एमालेले पुरानो अनुहारलाई निरन्तरता नदिई नयाँ उम्मेदवार अघि सारेको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सुनसरी–२ चौपक्षीय प्रतिस्पर्धाको केन्द्र बनेको छ । कांग्रेसबाट केन्द्रीय सदस्य राजीव कोइराला मैदानमा छन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट केन्द्रीय सदस्य तथा पूर्वकृषि राज्यमन्त्री रामकुमारी चौधरी उम्मेदवार छिन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट कोशी प्रदेश महामन्त्री लालविक्रम थापा प्रतिस्पर्धामा उत्रिएका छन् ।

थारु समुदायको उल्लेख्य बसोबास रहेको यस क्षेत्रमा रामकुमारी चौधरी समुदायगत मत आकर्षित गर्ने रणनीतिमा देखिन्छिन् । उता, पछिल्लो समय सहरी तथा युवा मतदातामाझ प्रभाव बढाउँदै आएको रास्वपाका कारण लालविक्रम थापा पनि बलियो दाबेदारका रूपमा हेरिएका छन् ।

कांग्रेसका राजीव कोइरालाले परम्परागत संगठन संरचना र स्थायी मताधारलाई बलियो आधार बनाउने रणनीति अघि सारेका छन् । यसरी हेर्दा यसपटकको प्रतिस्पर्धा कुनै १ दलका लागि सहज देखिँदैन ।

१ लाख ५८ हजार ९ सय १० जना मतदाता रहेको सुनसरी–२ मा अन्तिम परिणाम संगठन सक्रियता, अन्तिम समयको मत स्थानान्तरण, उम्मेदवारको व्यक्तिगत छवि र मतदाता मनोविज्ञानमा निर्भर रहने विश्लेषण गरिएको छ । गठबन्धनविहीन प्रतिस्पर्धा, नयाँ शक्तिको उदय र उम्मेदवार परिवर्तनले क्षेत्र पूर्ण रूपमा खुला प्रतिस्पर्धाको मैदानमा रूपान्तरण भएको छ ।

एमालेभित्र उठेको परिवारवादको बहसले भने चुनावी बहसलाई थप धार दिएको छ । एकातिर पार्टीभित्र पुस्तान्तरणको आवश्यकता र युवालाई अवसर दिने बहस छ । अर्कोतिर प्रभावशाली अभिभावकको राजनीतिक हैसियतका आधारमा अवसर सीमित हुने चिन्ता पनि छ । सुजनको उम्मेदवारी यही द्वन्द्वको बीचमा उभिएको छ ‘युवा नेतृत्वको उदय कि स्थापित संरचनाको निरन्तरता’ ?

सुनसरी–२ यसपटक एउटा निर्वाचन क्षेत्र मात्र रहेन । दलभित्रको आन्तरिक लोकतन्त्र, टिकट वितरणको पारदर्शिता र बदलिँदो मतदाता मनोविज्ञानको परीक्षणस्थल बनेको छ । परिणाम जे आए पनि चुनावी प्रतिस्पर्धाले समग्र दलगत राजनीतिमा पुस्तान्तरण र परिवारवादबीचको बहसलाई जन्माएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.