
काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले ‘मुस्लिम आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन’ पेस गर्ने भएकी छन्। मध्याह्न १२:१५ बजे सुरु हुने बैठकमा प्रधानमन्त्रीले उक्त प्रतिवेदन प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
बैठकमा अन्य विभिन्न समितिका प्रतिवेदनहरू पनि पेस हुने कार्यक्रम छ। विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दहालले ‘सङ्घीय एकाइहरूबीच विधायिकी अन्तर–सम्बन्ध अध्ययन प्रतिवेदन, २०८२’ र ‘बालबालिकासम्बन्धी ऐन, २०७५ मा रहेका बालसहभागितासम्बन्धी प्रावधानहरूको कार्यान्वयन मापन प्रतिवेदन, २०८२’ पेस गर्नेछिन्।
यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘अध्यागमन ऐन, २०४९ र सोअन्तर्गत बनेका प्रत्यायोजित विधायनहरू सम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा सुनाउनेछन्। साथै, राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन अन्त्यसम्बन्धी पत्रको व्यहोरा पनि अध्यक्षले जानकारी गराउनेछन्।
सरकारको माघ २६ गतेको सिफारिस बमोजिम राष्ट्रपति पौडेलले संविधानको धारा ९३ को उपधारा (२) अनुसार आज फागुन १ गते राति १२:०० बजेदेखि लागू हुने गरी राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गरेका छन्। भदौमा भएको ‘जेन-जी’ आन्दोलनपछि सिंहदरबारको नयाँ भवनबाट सञ्चालन भएको यो अधिवेशन करिब एक महिना चलेर आज समापन हुन लागेको हो।

























