
काठमाडौँ। अमेरिकी तल्लो सदन कङ्ग्रेसको दक्षिण तथा मध्य एसिया उपसमितिका अध्यक्ष बिल हुइजेन्गाले नेपाल र बंगलादेशमा भएका हालैका राजनीतिक परिवर्तन र निर्वाचनले दक्षिण एसियामा अमेरिकी संलग्नताका लागि नयाँ अवसर प्रदान गरेको बताएका छन्। वासिङ्टन डिसीमा आयोजित दक्षिण एसियामा अमेरिकी परराष्ट्र नीतिसम्बन्धी सुनुवाइका क्रममा उनले यस्तो धारणा राखेका हुन्।
सन् २०२४ को युवा विद्रोहपछि बंगलादेशमा हिजो बिहीबार पहिलो आम निर्वाचन सम्पन्न भएको छ भने नेपालमा यही फागुन २१ गते निर्वाचन हुँदैछ। यी दुवै देशमा युवा आन्दोलनले सत्ता परिवर्तन गराएको सन्दर्भलाई जोड्दै हुइजेन्गाले भने, ‘यी घटनाहरूले दक्षिण एसियामा अमेरिकी संलग्नताका लागि नयाँ अध्यायहरू प्रस्तुत गरेका छन्, जसले नयाँ सरकारहरूसँगको हाम्रो सम्बन्धलाई पुनः परिभाषित गर्नेछ।’
मिसिगनबाट प्रतिनिधित्व गर्ने रिपब्लिकन सांसद हुइजेन्गाले दक्षिण र मध्य एसियालाई एक गतिशील क्षेत्रको रूपमा चित्रण गर्दै यहाँको युवा जनसङ्ख्या चीनको ‘अधिनायकवादी’ विकल्प भन्दा बढी पश्चिमी संस्कृति र मूल्यमान्यताहरूतर्फ आकर्षित रहेको दाबी गरे। उनले यो क्षेत्र रणनीतिक जलमार्ग र गतिशील अर्थतन्त्रका कारण इन्डो-प्यासिफिक क्षेत्रमा शक्तिको सन्तुलन निर्धारण गर्न महत्त्वपूर्ण रहेको समेत उल्लेख गरे।
सुनुवाइका क्रममा उनले राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा बजार विस्तार र अमेरिकी आर्थिक हितलाई अगाडि बढाउने सम्झौताहरू सफलतापूर्वक अघि बढेको चर्चा गरे। “अब हामी यस क्षेत्रमा सक्रियतापूर्वक संलग्न हुनेछौँ र हाम्रो संलग्नताले आगामी दशकौँसम्म एसियामा अमेरिकाको भूमिका कस्तो रहनेछ भन्ने निर्धारण गर्नेछ,” उनले थपे।

























