
काठमाडौं । नेपाली कांग्रेसले आसन्न निर्वाचनका लागि उम्मेदवारहरूलाई आर्थिक सहयोग जुटाउने क्रममा कुनै पनि व्यवसायीलाई दबाब नदिन स्पष्ट निर्देशन दिएको छ ।
‘नेपाली कांग्रेस निर्वाचन परिचालन निर्देशिका–२०८२’ अन्तर्गत जारी ३४ बुँदे परिपत्रमा पार्टीले स्वतःस्फूर्त सहयोग स्वीकार गर्न सकिने तर, ठूला–साना कुनै पनि व्यवसायीमाथि दबाब दिन नहुने उल्लेख गरेको हो । परिपत्रमा प्रचार अभियानका लागि आवश्यक आर्थिक व्यवस्थापन पार्टीका सदस्यहरूको सहभागितामा ‘साझा दायित्व, साझा स्वामित्व’को भावनाअनुसार निश्चित कोष खडा गरेर गर्न आग्रह गरिएको छ ।
साथै, फजुल खर्च नगर्न र निर्वाचन सम्पन्न भएको १५ दिनभित्र निर्वाचन आयोगमा खर्च विवरण अनिवार्य बुझाउन निर्देशन दिइएको छ । पार्टीले पूर्वशिक्षक, पूर्वसैनिक, पूर्वप्रहरी, पूर्वकर्मचारी तथा विदेशबाट फर्किएका युवाहरूलाई अभियानमा सक्रिय रूपमा समेट्न स्थानीय तहसम्म संयन्त्र निर्माण गर्न भनेको छ ।
आन्तरिक असमझदारी बिर्सेर एकताबद्ध रूपमा चुनावमा जुट्न आह्वान गर्दै सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिएको जानकारी पनि परिपत्रमार्फत दिइएको छ ।
























