
विराटनगर । नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले आम जनतामा व्याप्त निराशा चिर्न र मुलुकलाई दुर्घटनाबाट जोगाउन कांग्रेस निर्वाचनमा होमिएको बताएका छन् । मोरङ क्षेत्र नम्बर २ को डाइनियामा कार्यकर्ता भेटघाटका क्रममा बोल्दै नेता रिजालले मुलुकमा आगो लगाउन खोज्ने र आगो लगाउन प्रेरित गर्ने दुवै पक्षबाट देशलाई जोगाउनु पर्नेमा जोड दिए ।
यस क्षेत्रका उम्मेदवार समेत रहेका रिजालले पछिल्लो समय नागरिकमा गहिरो निराशा देखिएको र त्यसैलाई आधार बनाएर देशमा अस्थिरता निम्त्याउन खोजिएको बताए । उनले भने, ‘जनताको निराशालाई शक्तिमा बदलेर देशलाई विकासको बाटोमा लैजानु पर्नेछ । त्यसैले पार्टी महामन्त्री गगन थापाको नेतृत्वमा कांग्रेस एक ढिक्का भएर चुनावी मैदानमा छ ।’ निर्वाचन नजिकिँदै गर्दा मतदातामा उत्साह बढ्दै गएको र नागरिकले विनाश नभई विकासको बाटो रोज्ने चेतना देखाएको उनको दाबी छ ।
नेता रिजालले मोरङ क्षेत्र नम्बर २ मा वि.सं. २०४८ सालदेखि तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले सुरु गरेको विकासको लहरलाई आफूले निरन्तरता दिएको बताए । रतुवा खोलाको पुल, हुलाकी सडकको विस्तार र सिक्टी–डाइनिया सडक खण्डका लागि २५ करोडको बहुवर्षीय योजना अघि बढाइएको उनले जानकारी दिए । उनले थपे, ‘यो क्षेत्र खोला र नदीले घेरिएको छ, त्यसैले तटबन्ध र पुल निर्माण मेरो प्राथमिकतामा छ । सुकुम्बासी समस्या समाधान र ठूला पूर्वाधारका लागि म दृढताका साथ लाग्नेछु ।’
१ लाख २९ हजारभन्दा बढी मतदाता रहेको यो क्षेत्रमा रतुवामाई, सुनवर्षी नगरपालिका सहित रंगेली, पथरीशनिश्चरे र कानेपोखरीका केही वडाहरू पर्दछन् । कांग्रेसको गढ मानिने यस क्षेत्रमा विगतमा गिरिजाप्रसाद कोइराला र आमोद उपाध्यायले जित हासिल गरेका थिए । २०७४ मा डा. रिजाल आफैँ विजयी भए पनि २०७९ को निर्वाचनमा भने कांग्रेसकी सुजाता कोइराला पराजित भएकी थिइन् । यसपटक गुमेको शाख फर्काउने रणनीतिमा रिजाल चुनावी अभियानमा जुटेका छन् ।
























