
ताप्लेजुङ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन देशको भविष्य तय गर्ने महत्वपूर्ण प्रक्रिया भएकाले मतदानमामा सक्रियत सहभागिता जनाउन सबै नागरिकलाई आह्वान गरेकी छन् ।
ताप्लेजुङको पाथीभरा र फुङलिङ क्षेत्रको भ्रमणका क्रममा शुक्रबार प्रधानमन्त्री कार्कीले स्थानीय र सरकारी अधिकारीहरूसँग अन्तरक्रिया गर्दै यसपालि नियमित नभएर विशेष महत्व बोकेको निर्वाचन भएको बताइन् । उनले भनिन्, ‘म यहाँ चुनाव सफल होस् भन्नका लागि आएकी हुँ । तपाईंहरु सबैले मतदान गरिदिनु होला । निर्वाचनलाई शान्तिपूर्ण बनाउन आआफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्छ ।’
प्रधानमन्त्री कार्कीले पाथीभरा मन्दिरमा दर्शन र पूजाआजा गरेकी थिइन् । त्यहाँबाट उनी ताप्लेजुङको सदरमुकाम फुङलिङ पुगेर सरकारी अधिकारीहरूसँग निर्वाचन तयारी र सुरक्षा अवस्थाका बारेमा विस्तृत छलफल गरिन् ।
छलफलमा मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश विकास श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईं, नेपाली सेनाका गुल्मपति सेनानी उमेश खड्का, प्रहरी प्रमुख डीएसपी वेदप्रसाद गौतम र सशस्त्र प्रहरी बलका प्रमोदप्रकाश पाठकले निर्वाचन तयारी, सुरक्षा व्यवस्था र मतदान प्रक्रिया बारे जानकारी गराएका थिए ।
प्रमुख जिल्ला अधिकारी सेढाईंका अनुसार १ मात्र निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा ९० हजार ३ सय २७ मतदाता छन् । ८२ मतदानस्थलमध्ये ४ वटा भौगोलिक रूपमा विकट र हिमाली क्षेत्रका हुन् । अहिलेसम्म मौसम सामान्य भए पनि भारी हिमपात भएमा मतदान गराउने कर्मचारीहरूको आवतजावत कठिन हुन सक्ने भएकाले मतपेटिका हेलिकप्टरबाट सार्ने व्यवस्थाको तयारी गरिएको छ ।
प्रजिअ सेढाईंले भने, ‘सुरक्षा अवस्था अहिलेसम्म सामान्य रहेको छ । कुनै अप्रिय घटना भएको छैन । सुरक्षा निकायहरुबीच चुस्त समन्वय भएकाले आगामी दिनमा निर्वाचन सहज रूपमा सम्पन्न गर्न सक्छौं ।’ प्रधानमन्त्री कार्कीले मतदानमा नागरिकहरूको सक्रिय सहभागिताले देशको भविष्य निर्धारणमा महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।
























